Techie IT
२०८३ मंसिर ११, बिहीबार

तिरुपति बालाजी मन्दिरमा एकै भक्तद्वारा इतिहासमै सबैभन्दा बढी १२१ किलो सुन दान


भारतको आन्ध्र प्रदेशस्थित प्रसिद्ध तिरुमला तिरुपति बालाजी मन्दिरमा चेन्नईका एक व्यवसायी दम्पतीले १२१ किलो सुनका गरगहना दान गरेका छन् । दान गरिएका ती गरगहनाको कुल मूल्य करिब २०८ करोड भारतीय रुपैयाँ (३ अर्ब ३२ करोड नेपाली रुपैयाँभन्दा बढी) रहेको छ ।

चेन्नईका व्यवसायी वर्धमान जैन र उनकी पत्नी राधिका जैनले बिहीबार आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुको उपस्थितिमा उक्त बहुमूल्य गरगहना मन्दिर व्यवस्थापनलाई हस्तान्तरण गरेका हुन् ।

दान गरिएका सामग्रीमा नौ सेटमा तयार पारिएका ४५ थान सुनका आभूषण र २३८.२ क्यारेटका हीरा समावेश छन् । जैन दम्पतीले भगवान् वेंकटेश्वरका लागि विशेष मुकुटदेखि पाउमा पहिरिने आभूषणसमेत निर्माण गरी चढाएका हुन् ।

मन्दिर व्यवस्थापन निकाय ‘तिरुमला तिरुपति देवस्थानम’ (टीटीडी) का अनुसार भगवान् वेंकटेश्वरको दरबारमा कुनै एक व्यक्तिले चढाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो दान हो ।

चेन्नईस्थित कम्पनी ‘वारा फ्युचर एलएलपी’ का अध्यक्ष वर्धमान जैनले हालै आफ्नो कम्पनीको ६० प्रतिशत सेयर हिस्सा बिक्री गरेर छ हजार करोड भारतीय रुपैयाँ प्राप्त गरेका थिए । सोही रकममध्येबाट उनले भगवान् श्री वेंकटेश्वरप्रति आस्था प्रकट गर्दै १२१ किलो सुनका गरगहना दान गरेका हुन् । सामाजिक तथा धार्मिक कार्यमा सक्रिय जैन यसअघि पनि विभिन्न परोपकारी दानका कारण चर्चामा आउने गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट