Techie IT
२०८२ कार्तिक ८, शनिबार

जिरो टिलेज प्रविधिबाट लसुनखेती, ५ कट्ठाबाट ९० हजार आम्दानी


कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा अहिले धान काटेपछि लसुन रोप्न व्यस्त छन्। तर उनको खेती गर्ने तरिका भने परम्परागत होइन। उनी खेत खनजोत नगरी सिधै धानको गाँजमै लसुन रोप्ने गर्छन् — यस प्रविधिलाई जिरो टिलेज (Zero Tillage) भनिन्छ।

दशकअगाडि गाउँ आएका कृषि प्राविधिकको सल्लाहमा उनले यो प्रविधि अपनाएका हुन्।
“पहिले खेत जोतेर क्यारी बनाएर रोप्थ्यौं, उत्पादन थोरै हुन्थ्यो,” डगौराले भने, “खनजोत नगरी सिधै रोप्दा गानो ठूलो हुन्छ, उत्पादन पनि राम्रो हुन्छ।”

डगौराले हाल पाँच कट्ठा जग्गामा लसुन रोपेका छन्। यो खेतीबाट उनी हरेक वर्ष करिब रु ९० हजार आम्दानी गर्छन्।
धान काटिसकेपछि चिस्यान भएको खेतमा गाँजबीच कुटोको सहायताले लसुनका पोटी (केस्रा) रोप्ने गरिन्छ। खेत सुक्खा भएमा सिँचाइ गरी रोपाइँ गरिन्छ। त्यसपछि गोठेमल छर्की परालले छोपिन्छ।

पिपलाडीका अधिकांश किसानले लसुनलाई नगदे बालीका रूपमा आत्मसात् गरेका छन्। प्रत्येक परिवारले एकदेखि पाँच कट्ठासम्म जग्गामा जिरो टिलेज प्रविधिबाट लसुनखेती गर्छन्। एक कट्ठामा करिब दुई क्विन्टल उत्पादन हुन्छ र बजारमा प्रतिकिलो रु ३०० देखि रु ५०० मा बिक्री हुने भएकाले किसानले प्रतिकट्ठा करिब रु ३० हजारसम्म आम्दानी गर्छन्।

“पहिले खानकै लागि लसुन किन्नुपथ्र्यो, अहिले घरको खपतपछि बाँकी बिक्री गर्छौं,” किसान चामबहादुर डगौराले भने । “व्यापारी आफैं घरमै आइपुग्छन्।”

स्थानीय बजार झलारी र महेन्द्रनगरमा जिरो टिलेजमा उत्पादित लसुनको माग उच्च रहेको किसान चुन्नुलाल डगौराले बताएका छन् ।
उनका अनुसार, “धानको गाँजमा बढेको लसुनको गानो ठूलो र स्वादिलो हुन्छ, बजारमा चाँडै बिक्री हुन्छ।”

प्रविधिले घटायो लागत, बढायो उत्पादन

शुक्लाफाँटा नगरपालिकाको कृषि शाखाका कृषि विकास अधिकृत विनयराज जोशीका अनुसार, जिरो टिलेज प्रविधिले खेत जोत्नुपर्ने झन्झट र लागत घटाएको छ। “यो प्रविधिमा माटोको संरचना नबिगारी खेतको प्राकृतिक चिस्यानलाई उपयोग गरी बाली लगाइन्छ,” उनले भने ।

उनका अनुसार, धान काटेको एकदेखि दुई दिनपछि गाँजको ठुटो करिब दुई इन्चमा काटेर त्यसैमा कुटो वा फलामका औजारले लसुन रोपिन्छ। त्यसपछि खेतमा पराल, भुस वा खरको छापो दिनुपर्छ, जसले चिस्यान कायम राख्छ र झारपात रोक्छ।

जोशीका अनुसार, “जिरो टिलेज खेतीमा गोडमेलको आवश्यकता नपर्ने र झारपात देखिएमा मात्र हटाउनुपर्ने भएकाले समय, श्रम र लागत तीनै घट्छन्।”

यो प्रविधिबाट गरिएको खेतीले जमिनको उर्वराशक्ति कायम राख्छ र जलवायु अनुकूलनका हिसाबले पनि प्रभावकारी मानिन्छ। रोग–कीरा नियन्त्रणका लागि किसानहरूले गाईगोबर, गहुँत र निमको रसबाट बनेको जैविक विषादी प्रयोग गर्छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट