देशका धेरै स्थानमा वर्षा

बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मनसुन सक्रिय बनेको छ। दुवैतर्फबाट आएको बादलका कारण हिजोदेखि नै देशका धेरै स्थानमा वर्षा भइरहेको छ।
आज पनि अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसमविदहरूले जनाएका छन्। केही स्थानमा अति भारी वर्षा हुने संभावना समेत छ। तर, बिहीबार बिहानपछि तुलनात्मक रूपमा वर्षा घट्ने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेकाले हाल मनसुन सक्रिय छ। यसको प्रभावले गत २४ घण्टामा अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भएको र एक–दुई ठाउँमा अति भारी वर्षा समेत भएको छ।
२४ घण्टामा सबैभन्दा धेरै वर्षा झापामा
झापाको बर्फल्याङ वर्षा मापन केन्द्रमा १२६.४ मि.मि. र अनारमनी बिर्तामा १२०.४ मि.मि. वर्षा भएको छ। यसैगरी केचनामा ९५.२, शनिश्चरेमा ९०.२, सिस्ने अर्जुनधारामा ८८.६, बाहुनडाँगीमा ७७, चन्द्रगढी विमानस्थलमा ६५, कन्काइमा ५५ र दमकमा ३२ मि.मि. वर्षा मापन भएको छ।
इलामको इलाम टी–स्टेटमा ८९.२, जितपुरमा ६३, हिमाली गाउँमा ५५.६ र कन्याममा ५५ मि.मि. वर्षा भएको छ। उदयपुरको गाईघाटमा पनि ९४.८ मि.मि. वर्षा मापन गरिएको छ।
पश्चिम नवलपरासीको परासीमा एक घण्टामै २६.२ मि.मि., बर्दघाटमा १०.८ मि.मि. र कास्कीको पस्याङखोलामा १४ मि.मि. वर्षा भएको छ। पछिल्लो ६ घण्टामा रसुवाको बेत्रावती, बाँकेको कुसुम, बाजुराको झिंग्राना, डोटीको ओइलानो र सप्तरीको बरमझियामा पनि उल्लेख्य वर्षा भएको छ।
मौसमविद् झाका अनुसार, वर्षा पार्ने बादल पूर्वबाट पश्चिमतर्फ सर्दैछन्। यस क्रममा सबैतिर एकनासको वर्षा नभई कतिपय स्थानमा मात्र केन्द्रित हुने गरी पानी पर्ने सम्भावना छ।
आज बिहान बागमती प्रदेशसहित काठमाडौं उपत्यकामा केही घण्टासम्म मध्यम वर्षा हुने र त्यसपछि पश्चिमतर्फ सर्दै जाने अनुमान छ। आज राति पश्चिम क्षेत्रमा बढी वर्षा हुने सम्भावना छ, जसमा पहाडी भूभागमा तुलनात्मक रूपमा बढी पानी पर्ने देखिएको छ।
प्रदेशगत वर्षा पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागका अनुसार, मधेश प्रदेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।
आज राति सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा भारीदेखि अति भारी वर्षा, लुम्बिनीको तराई भूभाग, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षा र अन्य स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
हाल सक्रिय वर्षा प्रणाली बिहीबार बिहानपछि क्रमशः कमजोर हुँदै जाने अनुमान छ। तर, वर्षा पूरै नरोकिने र केही स्थानमा हल्का देखि मध्यम वर्षा जारी रहने सम्भावना मौसमविद् झाले जनाएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस