डोटी–डडेलधुरामा मुसलधारे वर्षा, विभागले भन्यो– खतरा छैन

सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा भएको छ । विशेष गरी डोटी र डडेलधुरा जिल्लामा तुलनात्मक रूपमा बढी वर्षा मापन गरिएको छ । केही स्थानमा छोटो समयका लागि भारी वर्षा समेत भएको छ ।
पछिल्लो तीन घण्टामा डोटीको झिंग्रानामा सबैभन्दा धेरै ५४.२ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी जोरायल–कोलगाउँमा २५.४ मिलिमिटर, डडेलधुराको जोगबुढामा ४६.२ मिलिमिटर र गाइबन्डेमा ३३ मिलिमिटर वर्षा मापन भएको छ ।
कञ्चनपुरको ज्यामिरखालीमा २६.८ र २२.२ मिलिमिटर, बैतडीको गोठालपानीमा १६.४ र शान्तबाँझमा १०.२ मिलिमिटर वर्षा भएको छ ।
मौसम विभाग : कुनै उल्लेखनीय खतरा छैन
जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा गराउने प्रणाली केही कमजोर भई पश्चिमतिर सरेको छ । त्यसैले तत्काल कुनै उल्लेखनीय खतरा नरहेको विभागले जनाएको छ ।
गएको ६ घण्टामा मधेश प्रदेशको सप्तरी, बागमती प्रदेशको सिन्धुपाल्चोक लगायतका स्थानमा पनि उल्लेख्य वर्षा भएको छ ।
विभागका अनुसार हाल मनसुन कमजोर अवस्थामा रहेको छ । आज दिनभरि पहाडी भूभागमा सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ । दिउँसो पहाडी तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा र राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस