मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकीका पहाडमा भारी वर्षाको चेतावनी

मौसम पूर्वानुमान महाशाखाले आज (भदौ ६, शुक्रबार) दिउँसो र राति देशभर संभावित वर्षाबारे जानकारी दिएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार :
आज दिउँसो
देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
यसैगरी, कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ।
आज राति
देशका पहाडी भूभागमा साधारणतया बदली र अन्य स्थानमा आंशिक बदली रहनेछ। पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुन सक्छ।
गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकोले नेपालमा मनसुन केही कमजोर बनेको छ। तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकाले वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, अहिले कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि सफा मौसम छ।
सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
भोलिको अनुमान
दिउँसो : सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। केही स्थानमा मध्यम वर्षा र तराईका एक-दुई स्थानमा वर्षा हुने सम्भावना छ।
राति : देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुन सक्छ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
विशेषगरी, कोशी प्रदेशको तराई र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले सर्वसाधारण तथा सरोकारवाला निकायलाई पछिल्लो मौसमी सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार “दिउँसो” भन्नाले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समय हो भने “राति” भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समय जनाइन्छ।
वर्षा मापनका आधारहरू :
१० मिमी भन्दा कम = हल्का वर्षा
१० – ५० मिमी = मध्यम वर्षा
५० – १०० मिमी = भारी वर्षा
१०० – २०० मिमी = धेरै भारी वर्षा
२०० मिमी भन्दा बढी = अति भारी वर्षा
वर्षा हुने क्षेत्रफलको आधारमा प्रयोग हुने शब्दावली :
१०% भन्दा कम क्षेत्रमा = एक-दुई स्थान
१०% – ३०% = थोरै स्थान
३०% – ५०% = केही स्थान
५०% – ८०% = धेरै स्थान
८०% भन्दा बढी = अधिकांश स्थान
तपाईको प्रतिक्रिया दिनुहोस