अब बाढी पूर्वसूचना ‘फोन कल’ मार्फत

जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्वसूचनालाई अझ प्रभावकारी बनाउन सर्वसाधारणलाई ‘फोन गरेरै’ जानकारी दिने तयारी गरेको छ। विभागले नेपाल टेलिकमसँगको सहकार्यमा यही सातादेखि परीक्षणका रूपमा ‘भ्वाइस कल’ सेवा सुरु गर्ने जनाएको छ।
हालसम्म बाढीको खतरा देखिएमा विभागले एसएमएसमार्फत चेतावनी सन्देश पठाउँदै आएको छ। तर, सबैले सन्देश नपढ्न वा थाहा नपाउन सक्ने भएकाले अब ‘भ्वाइस कल’ प्रणाली थप्न लागिएको हो।
विभागका बाढीविद् विनोद पराजुलीका अनुसार, परीक्षणपछि यो सेवा विस्तार गर्ने योजना छ। “पछिल्लो समय पूर्वसूचनाका कारण तराई क्षेत्रमा हुने क्षति न्यून भएको छ। तर, पहाड र हिमाली क्षेत्रमा पूर्वसूचना प्रणाली अझै कमजोर छ, त्यसैले अब त्यहाँ पनि प्रणाली विस्तार गर्नुपर्छ,” उनले बताए।
जलवायु तथा विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले पनि जलवायु परिवर्तनका कारण तराई मात्र नभई हिमाल र पहाडमा समेत बाढीको जोखिम बढिरहेको बताए। उनका अनुसार, हिमताल फुट्ने जोखिम तीव्र बन्दै गएको छ, जसका कारण अचानक बाढी आउँदा ठूलो क्षति हुने गरेको छ।
“जोखिममा रहेका हिमताल क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्न सकियो भने क्षति न्यूनिकरण गर्न सकिन्छ। एसएमएससँगै भ्वाइस कल प्रणालीले सूचना प्रवाह अझ प्रभावकारी बनाउनेछ,” उप्रेतीले भने।
तपाईको प्रतिक्रिया दिनुहोस