देशभर बदली, कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर सामान्य बदली रहने जनाएको छ। सबै प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको र कोशी, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने महाशाखाले चेतावनी दिएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ । विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ भने बाँकी प्रदेशमा थोरै स्थानमा वर्षा हुने देखिएको छ ।
महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा देशभर मध्यम वर्षा मापन भएको छ । सिन्धुपाल्चोकको मानेखर्कमा ८८.८ मिलिमिटर, डडेलधुरामा ७४.६ मिलिमिटर, साहूखर्कमा ७८.२ मिलिमिटर, लमजुङको फलेनीमा ६१.६ मिलिमिटर र डोटीको गैह्रामा ६०.८ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
मौसमविद्हरूले तीव्र वर्षाका कारण पहाडी र तराईका केही क्षेत्रमा बाढी, पहिरो र जलभरावको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस