देशभर सामान्यतया बदली, यी स्थानमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण देशभर सामान्यतया बदली भएको छ।
आज बिहान कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा, साथै गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।
दिउँसो पनि देशभर सामान्यतया बदली रहनेछ। यस अवधिमा देशका पहाडी भूभागका केही तथा तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
यस्तै, आज राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, साथै बाँकी पहाड र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस