Techie IT
२०८२ भाद्र ३०, सोमबार

देशभर मौसम बदली, आगामी तीन दिनसम्म वर्षा हुने पूर्वानुमान


आजदेखि देशभर मौसम बदली सुरु भई विभिन्न स्थानमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म वर्षा हुने अनुमान गरिएको छ । वर्षा खण्डित रूपमा हुने बताइएको छ।

महाशाखाका मौसमविद् गोविन्द झाले लगातार झरी नभए पनि देशभर बदली रहने र कतैकतै भारी वर्षा हुने जानकारी दिए। उनका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले र अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेको कारण वर्षा प्रणाली सक्रिय भएको हो। साथै कतिपय स्थानमा स्थानीय मौसमी प्रणाली पनि विकास भएको छ।

आज साँझ चितवन र नवलपुर आसपासमा विकसित मौसमी प्रणालीका कारण नारायणघाट र डन्डामा भारी वर्षा भएको महाशाखाले जनाएको छ। उक्त प्रणाली पूर्वतर्फ सर्ने क्रममा छ। पछिल्ला तीन घण्टामा चितवन, नवलपरासी, बारा, गुल्मी, गोरखा र कास्कीमा वर्षा भएको छ।

हाल देशभर सामान्य बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा, साथै कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। सोमबार लुम्बिनी प्रदेशलगायत पहाडी क्षेत्रमा धेरै स्थानमा र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र कोशी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुनसक्ने भएको छ।

भदौ ३० गते राति कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान छ। यस अवधिमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट