मनसुनी सक्रियता कायम, कोशी–बागमतीसहितका प्रदेशमा वर्षाहुने

देशभर मनसुनी वायुको प्रभाव जारी छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वतर्फ सरदर स्थानको आसपास अवस्थित छ।
शनिबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ। पछिल्लो तीन घन्टामा धनकुटाको त्रिवेणीमा ४२.६ मिलिमिटर, संखुवासभाको नममा ३३.८ मिलिमिटर, सोलुखुम्बुको सिरुवामा १९.६ मिलिमिटर, सिन्धुपाल्चोकको भोटाङमा २७ मिलिमिटर, म्याग्दीको बेनीबजारमा २४.२ मिलिमिटर, रूकुम पूर्वको रूकुमकोटमा ३० मिलिमिटर, बाफीकोटमा ३२ मिलिमिटर र कैलालीको चिसापानीमा ८.८ मिलिमिटर वर्षा मापन भएको छ।
शनिबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका अन्य पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराईका अधिकांश भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य पहाडी जिल्लाका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहने तथा अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। सो अवधिमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस