यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका पहाडी भूभागमा सामान्य बदली र बाँकी भागमा आंशिक बदली देखिएको छ। कोशी र बागमती प्रदेशका केही पहाडी स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।
आज दिउँसो देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली हुने अनुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका केही स्थानमा तथा अन्य प्रदेशका पहाड र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य भागका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस