Techie IT
२०८२ असोज २१, मंगलबार

यी पाँच प्रदेशमा भारी वर्षा र बाढीको जोखिम


गृह मन्त्रालयले आगामी असोज १७ देखि २० गतेसम्म (अक्टोबर ३ देखि ६) पाँच प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

यसैबीच भारतको मौसम विभागले पनि सीमावर्ती बिहार राज्यसहित छत्तीसगढमा भारी वर्षाको आशंका गर्दै ‘रेड अलर्ट’ जारी गरेको छ, जसको सीधा असर नेपालका तराई जिल्लामा पर्न सक्ने देखिएको छ।

बङ्गालको खाडीमा बनेको गहिरो दबाबका कारण पूर्वी र मध्य भारतमा मौसममा ठुलो परिवर्तन आएको भारतको मौसम विभागले जनाएको छ। बिहारका सबै ३८ जिल्ला र छत्तीसगढका २८ जिल्लामा तीव्र वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै मध्य प्रदेश, उत्तर प्रदेश, झारखण्ड, ओडिशा र पश्चिम बंगालमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

बिहारमा निरन्तरको वर्षाका कारण कतिपय दुर्गा पूजाका पण्डालहरूमा २–३ फिटसम्म पानी जमिसकेको छ। यस वर्षाको क्रम अक्टोबर ६ देखि ७ सम्म जारी रहने आकलन गरिएको छ।

उत्तरतर्फ हिमपात

एकातिर तराई र मध्य भेगमा वर्षाको खतरा बढिरहेको बेला, अर्कोतिर उत्तर भारतको कश्मीर र हिमाचल प्रदेशमा  हिउँ परेको छ। गुलमर्ग, सोनमर्ग र गुरेजका चुचुराहरू हिउँले ढाकिएका छन् भने हिमाचल प्रदेशको काँगडामा भारी वर्षा, हल्का हिमपात र असिनासहित मौसम चिसिएको छ। धर्मशालामा न्यूनतम तापक्रम १४–१५ डिग्री सेल्सियससम्म झरेको छ।

नेपालका पाँच प्रदेश उच्च जोखिममा

नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) मार्फत गृह मन्त्रालयले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा नदी तथा साना खोला–नालामा जलस्तर आकस्मिक बढ्न सक्ने चेतावनी दिएको छ।

भारतमा भइरहेको भारी वर्षाको असर स्वरूप नारायणी, बागमती, कमला र कोशी नदी खतरा तह आसपास पुग्न सक्ने देखिएको छ। विशेषगरी बारा, पर्सा, सर्लाही, रौतहट, झापा र मोरङमा स–साना नदीको आकस्मिक बहाव हुन सक्ने भन्दै पूर्वतयारीमा जुट्न आग्रह गरिएको छ।

दसैँमा यात्रुहरूको भीड बढ्ने भएकाले गृह मन्त्रालयले अत्यावश्यक नभई सकेसम्म लामो दूरी र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई वर्षा र बाटोको अवस्थाको मूल्यांकन गर्दै आवश्यक परे सवारी सञ्चालनमा रोक लगाउने निर्णय लिन निर्देशन दिइएको छ।

जोखिममा रहेका क्षेत्रका नागरिकलाई सुरक्षित स्थानबारे जानकारी लिन र आवश्यक पर्दा तुरुन्त सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ। साथै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट