Techie IT
२०८२ कार्तिक १२, बुधबार

आज कोशी, बागमती र गण्डकीका हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातको सम्भावना


देशका विभिन्न हिमाली तथा उच्च पहाडी भूभागमा आज मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात र कोशी–बागमतीका एक–दुई स्थानमा भारी हिमपात हुन सक्ने पूर्वानुमान गरिएको हो।

विभागले जारी गरेको विशेष मौसम बुलेटिनमा, “आजको अवधिमा देशका बागमती, कमला, कोशी र कन्काई नदी तथा तीका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना रहेको भनिएको छ ।” ती क्षेत्रमा सतर्कता तह आसपास पुग्न सक्ने देखिएकाले स्थानीय प्रशासन र सरोकारवालाहरुलाई सचेत रहन आग्रह गरिएको छ।

यस्तै, कोशी, बागमती र मधेश प्रदेशका महाभारत र चुरे श्रृंखलामा रहेका स–साना नदीनालामा आकस्मिक बहाव हुन सक्ने चेतावनी पनि दिइएको छ।
खासगरी, काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली, बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरीका नदी–नालाहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको विभागको भनाइ छ।

विभागका अनुसार सम्भावित वर्षा र हिमपातका कारणले नदीनालामा आकस्मिक बाढी, पहिरो, सडक तथा हवाई यातायात अवरोध, कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने सम्भावना रहेको छ। त्यसैले नागरिकलाई आवश्यक सतर्कता अपनाउन, अनावश्यक यात्रामा कमी गर्न र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ।

उक्त मौसमी परिवर्तनमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ मुख्य कारण रहेको विभागले बताएको छ। चक्रवात ‘मोन्था’ हाल भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको र त्यसपछि यसको प्रभाव बिस्तारै कमजोर हुँदै नेपालको मध्य भूभाग नजिकै न्यूनचापीय क्षेत्रका रूपमा सर्ने सम्भावना रहेको विभागको पूर्वानुमान छ।

मौसमविद्हरूका अनुसार चक्रवातको अवशिष्ट प्रभावका कारण आज र भोलि देशका अधिकांश स्थानमा मौसमी गतिविधि बढ्ने र हिमाली क्षेत्रमा हिमपात तथा केही तराई क्षेत्रहरूमा वर्षा हुने क्रम जारी रहनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट