चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा : देशभर बदली, वर्षा र हिमपात, आज साँझसम्म मौसम प्रभावित रहने
 
                                                        बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको छ। सो प्रणालीको प्रभावका कारण नेपालमा आज साँझसम्म मौसम प्रभावित रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भोलिदेखि मौसम क्रमिक रूपमा सुधार हुने अनुमान गरिएको छ। यससँगै पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीले पनि नेपालको मौसममा आंशिक प्रभाव पारिरहेको छ।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि अधिकांश स्थानमा बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशमा सामान्य बदली रहनेछ। ती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा, र कर्णाली तथा सुदूरपश्चिमका पहाडी–हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
त्यस्तै, कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ।
आज राति पनि कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी तथा लुम्बिनीका केही स्थानहरूमा मध्यम वर्षा हुनसक्नेछ। कोशी र बागमतीका उच्च पहाडी क्षेत्रहरूमा भने भारी हिमपात हुने सम्भावना छ।
महाशाखाले कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा र हिमपातको कारण दैनिक जनजीवन, कृषि, पर्यटन, पर्वतारोहण, सडक र हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।




 
    


 
     
             
             
             
             
            




तपाईको प्रतिक्रिया दिनुहोस