चक्रवात मोन्था र न्यून चापीय प्रणालीको असर हट्यो, यस्तो छ तीन दिनको मौसम
नेपालमा अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव हटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज आइतबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार अहिले देशभर पश्चिमी वायुको मात्र प्रभाव रहेको छ। यसअघि शनिबार रातिसम्म अरब सागरको न्यून चापीय प्रणाली र पश्चिमी वायु दुबैको असरका कारण मौसम अस्थिर रहेको थियो।
त्यसअघि शुक्रबार रातिसम्म बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव पनि नेपालमा देखिएको थियो। त्यसकै कारण बुधबार रातिदेखि निरन्तर वर्षा भइरहेको थियो।
अब भने नेपालमा पश्चिमी वायुको मात्र प्रभाव जारी रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिमी वायुका कारण आज (आइतबार) देशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
तीन दिनको मौसम पूर्वानुमान
कात्तिक १६ गते (आइतबार)
दिउँसो: कोसी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने, बाँकी पहाडी भागमा आंशिक बदली र अन्य स्थानमा मौसम सफा रहने। यी प्रदेशका पहाडी भागका थोरै ठाउँमा हल्का वर्षा वा हिमपातको सम्भावना।
राति: कोसी, बागमती र गण्डकी प्रदेशका पहाड तथा हिमाल भूभागमा आंशिक बदली रहने, एक–दुई स्थानमा हल्का वर्षा/हिमपात हुन सक्ने। बाँकी स्थानमा मौसम सफा रहने।
कात्तिक १७ गते (सोमबार)
दिउँसो: देशका पहाडी भागमा आंशिक बदली रहने, अन्यत्र मौसम सफा रहने। कोसी र गण्डकी प्रदेशका पहाडमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना।
राति: पहाडी भागमा आंशिक बदली रहने, कोसी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा/हिमपात हुन सक्ने।
कात्तिक १८ गते (मंगलबार)
दिउँसो: कर्णाली प्रदेशसहित देशका पहाडी भागमा आंशिक बदली रहने, बाँकी प्रदेशमा मौसम सफा रहने। कर्णाली र सुदूरपश्चिमका पहाडी भागका थोरै ठाउँमा हल्का वर्षा/हिमपातको सम्भावना।
राति: देशका पहाडमा आंशिक बदली रहने, गण्डकी र कर्णाली प्रदेशका पहाडमा केही स्थानमा हल्का वर्षा/हिमपात हुन सक्ने।
मौसम सम्बन्धी जानकारी
महाशाखाले ‘दिउँसो’ भन्नाले बिहानदेखि साँझ ६ बजेसम्म र ‘राति’ भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समय जनाइएको स्पष्ट गरेको छ।
मौसमविद्हरूका अनुसार,
२४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा भए “हल्का वर्षा”,
१० देखि ५० मिलिमिटरसम्म भए “मध्यम वर्षा”,
५० देखि १०० मिलिमिटरबीच भए “भारी वर्षा”,
१०० देखि २०० मिलिमिटरबीच भए “धेरै भारी वर्षा”, र
२०० मिलिमिटरभन्दा बढी भए “अति भारी वर्षा” भनिन्छ।
त्यस्तै,
एक–दुई स्थानमा वर्षा भन्नाले प्रदेशको १०% भन्दा कम क्षेत्रमा वर्षा हुने सम्भावना,
थोरै ठाउँमा वर्षा भन्नाले १०–३०% क्षेत्र,
केही स्थानमा वर्षा भन्नाले ३०–५०% क्षेत्र,
धेरै ठाउँमा वर्षा भन्नाले ५०–८०% क्षेत्र, र
अधिकांश स्थानमा वर्षा भन्नाले ८०% भन्दा बढी क्षेत्रमा वर्षा हुने सम्भावना जनाइन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस