पश्चिमी वायुको आंशिक प्रभावले चिसो अझै बढ्ने संकेत
नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न भू–भागमा बादल लाग्ने क्रम बढेको छ। यसको प्रभाव पश्चिम नेपालमा तुलनात्मक रूपमा बढी र पूर्वी नेपालमा कम देखिएको मौसमविदहरूले बताएका छन्।
यसको प्रभावले तापक्रम केही घट्ने र उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। तराई–मधेश तथा पहाडी खोँचहरूमा फैलिएको हुस्सु र कुहिरो भने केही हदसम्म कम हुने अनुमान गरिएको छ। यद्यपि, प्रणाली कमजोर रहेकाले मौसममा ठूलो सुधार भने नदेखिने पूर्वानुमान गरिएको छ।
पश्चिमी वायुको प्रभाव कहाँ कस्तो ?
जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार पश्चिमी वायुको प्रभावले विशेषगरी देशका पश्चिमी भू–भागमा मौसममा परिवर्तन आएको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था देखिएको छ। अन्य प्रदेशहरूमा भने मौसम सामान्यतया सफा नै रहेको उनले जानकारी दिए।
उनका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
तराई–मधेशका क्षेत्रमा बिहानीपख हुस्सु र कुहिरो लागिरहनेछ। पश्चिमी वायुका कारण पश्चिम तराईका केही स्थानमा कुहिरो आंशिक रूपमा हट्न सक्ने अनुमान भए पनि प्रणाली कमजोर भएकाले पूर्ण रूपमा हट्ने निश्चित भने नरहेको मौसमविद् लामिछानेले बताए।
काठमाडौं उपत्यकामा पनि आज आंशिक बदली रहने सम्भावना छ। हिजो–अस्तिको तुलनामा बादल केही बढे पनि वर्षाको सम्भावना नरहेको मौसमविद्को भनाइ छ। आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ भने आज अधिकतम तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
चिसो अझै बढ्ने संकेत
पश्चिमी वायुको प्रभावका कारण बादल बढ्दा घाम कम लाग्ने र त्यसले चिसो अझै बढाउने मौसमविद्हरूको आकलन छ। “पश्चिमी वायुको प्रभावले बादल लाग्दा जाडो महिनाको चिसो केही बढ्ने देखिन्छ,” मौसमविद् लामिछानेले बताए।
यो प्रणाली धेरै बलियो नभएकाले देशव्यापी रूपमा ठूलो असर पर्ने छैन। तर हिमाली भेगमा यात्रा गर्नेहरू तथा तराई–मधेशमा शीतलहरको प्रभाव भोगिरहेका नागरिकहरूलाई भने सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
पछिल्ला केही दिनयता तराई–मधेशका विभिन्न जिल्लामा हुस्सु, कुहिरो र शीत चुहिने समस्याका कारण जनजीवन प्रभावित भएको छ। हवाई तथा सडक यातायातसमेत प्रभावित हुँदा केही स्थानीय तहले विद्यालय बन्द गरेका छन्। चिसोबाट जोगिन स्थानीय सरकारको पहलमा विभिन्न चोक–चोकमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था समेत मिलाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस