शीतलहरको असरः तराईका अस्पतालमा बिरामी ह्वात्तै बढे
तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थालेसँगै अस्पतालहरूमा टाउको दुखाइको समस्या लिएर पुग्ने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। तापक्रममा आएको गिरावट र चिसो हावाका कारण जनजीवन मात्र होइन, मानिसहरूको स्वास्थ्यमा पनि प्रत्यक्ष असर परेको चिकित्सकहरूले बताएका छन्। विराटनगरस्थित कोशी अस्पतालमा पछिल्लो समय टाउको दुखाइका बिरामीको चाप बढ्दै गएको छ।
कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार जाडो मौसममा शरीरको तापक्रम सन्तुलन बिग्रनु र रक्तसञ्चार प्रणालीमा अवरोध आउनु टाउको दुखाइको मुख्य कारण हो। चिसोका कारण रक्तनली खुम्चिँदा टाउकोतर्फ जाने रक्तप्रवाह कम हुन्छ, जसले टाउको भारी भएको वा च्यापिएको जस्तो महसुस गराउँछ। जाडोयाममा तिर्खा कम लाग्ने हुँदा मानिसले पानी कम पिउने गर्छन्, जसका कारण शरीरमा पानीको कमी (डिहाइड्रेशन) भई टाउको दुखाइ बढ्ने गरेको छ।
विशेषगरी मोटरसाइकल चालक, राति चिसोमा सुत्नेहरू तथा लामो समय एउटै आसनमा बसेर काम गर्ने व्यक्तिहरू यो समस्याबाट बढी प्रभावित छन्। चिसो हावाले घाँटी र काँधका मांसपेशी कडा हुँदा टाउकोको पछाडिबाट सुरु भएको दुखाइ अगाडिसम्म फैलिने गर्छ। साइनसको समस्या भएका व्यक्तिहरूमा नाक बन्द हुने, आँखाको वरिपरि दुख्ने र अनुहार भारी हुने लक्षण देखिन्छन्। माइग्रेनका बिरामीका लागि जाडो मौसम झनै चुनौतीपूर्ण हुने चिकित्सकहरू बताउँछन्, जहाँ चिसो हावा र निद्राको गडबडीले दुखाइलाई थप चर्काउँछ।
चिकित्सकहरूका अनुसार जाडोमा घाम कम ताप्दा भिटामिन ‘डी’ को कमी भई मांसपेशी दुखाइ र थकान बढ्न सक्छ। उच्च रक्तचाप भएका व्यक्ति, वृद्धवृद्धा तथा मोबाइल र कम्प्युटरमा लामो समय बिताउनेहरू बढी जोखिममा छन्। डा. खड्काले सामान्य टाउको दुखाइ भनेर बेवास्ता नगर्न चेतावनी दिँदै औषधि खाँदा पनि निको नहुने, दृष्टि धमिलो हुने वा ज्वरोसँगै टाउको दुख्ने अवस्था देखिए तुरुन्त चिकित्सकको सल्लाह लिन आग्रह गरेका छन्।
यस समस्याबाट बच्न प्रशस्त पानी पिउने, घाँटी र कान न्यानो कपडाले छोप्ने, बिहानको घाम ताप्ने र हल्का व्यायाम गर्ने बानी बसाल्न चिकित्सकहरूको सुझाव छ। खानपान र जीवनशैलीमा सानो सुधार गर्न सके जाडोयाममा देखिने यस्ता स्वास्थ्य समस्याबाट सजिलै जोगिन सकिने उनीहरूको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस