Techie IT
२०८२ माघ १५, बिहीबार

पश्चिमी वायु सक्रिय: पहाडमा वर्षा–हिमपात, तराईमा बाक्लो कुहिरो लाग्ने


हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आकाश पूर्ण रूपमा बादलले ढाकिएको छ भने अन्य क्षेत्रमा आंशिक बदली छ। बागमतीका केही स्थान र गण्डकीका एक–दुई क्षेत्रमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ। यी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षा हुन सक्ने सम्भावना छ।

आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्नेछ। कर्णाली र सुदूरपश्चिमसहित कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

मंगलबार रातिदेखि बुधबार दिउँसोसम्म दोस्रो हिउँदे वर्षा भएको थियो। महाशाखाको अद्यावधिक विवरणअनुसार काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा वर्षा भयो, तर तुलनात्मक रूपमा कोशी प्रदेशमा कम वर्षा मापन गरिएको छ। पछिल्लो २४ घण्टामा खानीखोला केन्द्रमा २५.८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। बिहीबार भने उल्लेख्य वर्षाको सम्भावना छैन।

मौसमविद् विनोद पोखरेलले आगामी सोमबारदेखि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने प्रक्षेपण गरेका छन्।
‘हिजो पश्चिमी वायुले आधाभन्दा बढी भूभागमा हल्कादेखि मध्यम वर्षा गरायो। अब अर्को प्रणाली सोमबारदेखि भित्रिने सम्भावना छ,’ उनले बताए। उक्त प्रणालीले पनि यस्तै प्रकृतिको वर्षा गराउन सक्ने उनको अनुमान छ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा फेरि पनि हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट