पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: यी ठाउँमा हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान र अन्य पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ। देशका पहाडी र हिमाली भूभागमा सामान्यतया बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी आज राति तराईका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना रहेको छ। गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले हुस्सु–तुवाँलो लाग्ने तथा वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा बसोबास गर्ने नागरिक तथा ती क्षेत्रमा यातायात सञ्चालनलगायत दैनिक गतिविधि गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस