मुक्तिनाथ यात्रामा बढ्दो जोखिम, लेक लागेर १० महिनामै १३ पर्यटकको मृत्यु
हिमाली जिल्ला मुस्ताङको उच्च हिमाली क्षेत्रमा देखिने ‘हाइअल्टिच्युड सिकनेस’ (लेक लाग्ने समस्या) का कारण चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म १३ पर्यटकले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा नौ विदेशी र चार नेपाली पर्यटक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु आर्थिक वर्षको साढे १० महिनाको अवधिमा मुक्तिनाथ दर्शनका लागि आएका पर्यटकमध्ये लेक लागेर १३ जनाको मृत्यु भएको हो। मृत्यु हुने नेपालीमध्ये तीन पुरुष र एक महिला छन् भने विदेशीमध्ये सात पुरुष र दुई महिला रहेका छन्।
प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका उच्च हिमाली क्षेत्रमा लेक लागेपछि बिरामी परेका ती पर्यटकको प्रदेश अस्पताल जोमसोममा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीको तथ्यांकअनुसार मुस्ताङमा लेक लागेर मृत्यु हुनेमध्ये भारतीय पर्यटकको संख्या बढी छ। समथर भूभागबाट सिधै तीन हजार मिटरभन्दा माथिको उचाइमा पुग्ने यात्रुले पर्याप्त स्वास्थ्य सावधानी नअपनाउँदा यस्तो समस्या देखिने गरेको छ।
विशेषज्ञहरूका अनुसार उच्च हिमाली क्षेत्रमा अक्सिजनको मात्रा कम हुने भएकाले शरीरलाई वातावरणसँग अनुकूल हुन समय आवश्यक पर्छ। तर अधिकांश पर्यटकले पर्याप्त विश्राम नगरी छोटो समयमा मुक्तिनाथ पुग्ने प्रयास गर्दा लेक लाग्ने जोखिम बढ्ने गरेको छ।
जोखिम न्यूनीकरणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), मुक्तिनाथ विकास समिति, स्थानीय तह तथा सुरक्षा निकायले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्। म्याग्दी–मुस्ताङ सीमास्थित घाँसादेखि मुक्तिनाथसम्मका मुख्य पर्यटकीय क्षेत्रमा लेक लाग्ने जोखिमबारे जानकारी दिने साइनबोर्डसमेत राखिएका छन्।
मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङका अनुसार मुक्तिक्षेत्रका अधिकांश होटलमा पोर्टेबल अक्सिजन सिलिन्डर र आवश्यक औषधिको व्यवस्था गरिएको छ। यद्यपि ट्राभल एजेन्सी तथा होटलहरूले पर्यटकलाई पर्याप्त स्वास्थ्य जानकारी नदिने र बीच–बीचमा विश्राम (होल्डिङ) नगराई सिधै गन्तव्यमा पुर्याउने प्रवृत्तिका कारण समस्या अझै कायम रहेको उनको भनाइ छ।
स्वास्थ्यकर्मीहरूका अनुसार उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा क्रमशः उकालो चढ्ने, पर्याप्त पानी पिउने, बीच–बीचमा विश्राम गर्ने र स्वास्थ्य समस्या देखिए तुरुन्त उपचार लिनु अत्यावश्यक हुन्छ।
मुक्तिनाथ दर्शनार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मुक्तिनाथ मन्दिर परिसरमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ सञ्चालन गरेका छन्। मन्दिर क्षेत्र र मुक्तिनाथ जाने सिँढी मार्गमा स्थापित दुई केन्द्रबाट आकस्मिक स्वास्थ्य सेवा प्रदान भइरहेको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार ज्येष्ठ नागरिक, दीर्घरोगी, शारीरिक रूपमा अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूमा लेक लाग्ने जोखिम अझ बढी हुने भएकाले मुस्ताङ भ्रमणअघि स्वास्थ्य अवस्था परीक्षण गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस