Techie IT
२०८३ भाद्र २६, शुक्रबार

आजको मौसम : पहाडमा चट्याङसहित वर्षाहुने, तराईमा बढ्नेछ गर्मी


नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न क्षेत्रमा वर्षा र गर्मीको सम्भावना औँल्याएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। यी क्षेत्रका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यता, मधेश र कोशी प्रदेशको तराई क्षेत्रमा तापक्रम बढ्ने तथा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

आज राति हिमाली भूभागमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई सतर्क रहन आग्रह गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट