Techie IT
२०८३ जेष्ठ २३, शनिबार

एक साताभित्र मनसुन भित्रिन सक्ने अनुमान


सरदरभन्दा तीन दिन ढिला गरी मनसुनी वायु भारतको केरला राज्यमा प्रवेश गरेको छ। मौसमविद्हरूका अनुसार यही गतिमा मनसुन सक्रिय रहे नेपालमा पनि करिब एक साताभित्र प्रवेश गर्ने सम्भावना छ।

मौसमविद् विनोद पोखरेलका अनुसार मनसुनी वायु गत मे १६ मै दक्षिणी बंगालको खाडीमा पुगेको थियो। यद्यपि त्यसपछि यसको विस्तार अपेक्षाकृत सुस्त हुँदा केरला पुग्न ढिलाइ भएको हो। दक्षिणी बंगालको खाडीमा भने मनसुन सरदरभन्दा झण्डै एक साताअघि नै सक्रिय भएको थियो।

नेपालमा सामान्यतः जुन १३ तारिख (जेठ अन्तिम सातातिर) मनसुन भित्रिने गर्दछ। गत वर्ष भने मनसुन करिब १५ दिनअघि नै नेपाल प्रवेश गरेको थियो।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुन याममा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको प्रक्षेपण गरेको छ। साथै, तापक्रम पनि औसतभन्दा बढी रहने अनुमान गरिएको छ। तर, प्रि–मनसुन अवधिमा भने उल्लेख्य वर्षा भएको विभागले जनाएको छ। विभागका अनुसार हालसम्म सरदरभन्दा करिब २६ प्रतिशत बढी वर्षा रेकर्ड भएको छ।

विभागले जेठ १८ देखि असोज १४ गतेसम्मको अवधिलाई मनसुन याम मान्दै आएको छ। हाल देशभर औसत १२ मिलिमिटरभन्दा बढी वर्षा भइरहेको जनाएको छ। मौसमविद् पोखरेलका अनुसार असार १५ गतेसम्म देशका अधिकांश भूभागमा पर्याप्त वर्षाको सम्भावना रहेको छ।

हाल देशमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको असरका कारण देशका विभिन्न क्षेत्रमा बदली र वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले शुक्रबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यता, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मध्यम तातो लहर (हीटवेभ) चल्ने सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी अझ बढ्न सक्ने चेतावनी दिइएको छ।

महाशाखाले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा आगामी तीन दिन विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

तातो लहरको प्रभावबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा बाहिर ननिस्कन, हल्का तथा सुती कपडा लगाउन, टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त पानी र झोल पदार्थ सेवन गर्न विभागले सुझाव दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट