Techie IT
२०८३ असार २, मंगलबार

El Niño

सुपर एल निनोको छायामा नेपालको मनसुन: १५० वर्षअघिको वातावरणीय संकट दोहोरिने वैज्ञानिक चिन्ता

नेपालको इतिहासमै एल निनोको सबैभन्दा चरम प्रभाव सन् १९८२ मा देखिएको थियो


एल निनो (El Niño) एउटा प्राकृतिक मौसमी प्रणाली हो, जसका कारण मध्य तथा पूर्वी प्रशान्त महासागरको भूमध्यरेखीय क्षेत्रमा समुद्री सतहको पानी सामान्यभन्दा बढी तात्ने गर्दछ। यो कुनै अल्पकालीन आँधी वा मौसम परिवर्तन मात्र नभएर विश्वव्यापी वायुमण्डलीय चक्रलाई नै खलबल्याइदिने एक शक्तिशाली जलवायु चक्र हो।

यो कसरी हुन्छ?
सामान्य अवस्थामा प्रशान्त महासागरमा पूर्वबाट पश्चिमतिर (दक्षिण अमेरिकाबाट एसिया र अस्ट्रेलियातर्फ) बलियो हावा बहन्छ। यसले सतहको तातो पानीलाई एसियातर्फ धकेल्छ र दक्षिण अमेरिकाको तटीय क्षेत्र (जस्तै पेरू) मा तलको चिसो पानी माथि आउँछ।

तर, एल निनो सक्रिय भएको वर्ष यो हावा कमजोर हुन्छ वा यसको दिशा उल्टिन्छ। फलस्वरूप, प्रशान्त महासागरको तातो पानी पूर्वतिरै (दक्षिण अमेरिकातर्फ) थुप्रिन पुग्छ र त्यहाँको समुद्री सतहको तापक्रम औसतभन्दा ०.५ डिग्री सेल्सियसदेखि ३ डिग्री सेल्सियससम्म बढ्न जान्छ।

‘एल निनो’ नाम कसरी रहन गयो?
यो शब्दको पहिलो प्रयोग पेरूका माझीहरूले गरेका थिए। डिसेम्बर (क्रिसमस) को आसपासमा समुद्री पानी तातो भएर माछाहरू हराउने वा किनारमा देखिने गर्थे। स्पेनिस भाषामा 'एल निनो' को अर्थ "बालक इसा" (Christ Child) वा सानो केटा भन्ने हुन्छ। क्रिसमसको समयमा देखिने भएकाले यसको नाम 'एल निनो' राखिएको हो।

यस वर्ष नेपालमा मनसुनी प्रणालीको आगमनमा ढिलाइ हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार भू-उपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय विश्लेषण गर्दा नियमित समयभन्दा ढिलो गरी मात्र मनसुन भित्रिने देखिएको हो।

नेपालमा सामान्यतया प्रत्येक वर्षको जुन १३ तारिखलाई मनसुन भित्रिने औसत दिन मानिन्छ। तर, प्रशान्त महासागरमा विकसित भएको शक्तिशाली मौसमी चक्र ‘एल निनो’ (El Niño) का कारण नेपालसहित समग्र दक्षिण एसियाकै मनसुनी प्रणाली कमजोर बन्दा यस वर्षको मनसुन समयमै प्रवेश गर्न नसकेको विभागले जनाएको छ। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भइरहे पनि यसलाई औपचारिक मनसुनी वर्षा भन्न नमिल्ने मौसमविद्हरूको भनाइ छ।

५० वर्षको इतिहास: एल निनो र मनसुनको ढिलाइ
जल तथा मौसम विज्ञान विभागको ५० वर्षको (सन् १९७२ देखि २०२३ सम्मको) अभिलेखलाई गणितीय रूपमा विश्लेषण गर्दा एल निनो सक्रिय भएको वर्षमा नेपालमा मनसुन भित्रिन औसतमा ५.६४ दिन ढिलो हुने गरेको छ। यो ढिलाइ न्यूनतम १ दिनदेखि अधिकतम १४ दिनसम्म रेकर्ड गरिएको छ।

नेपालको इतिहासमै एल निनोको सबैभन्दा चरम प्रभाव सन् १९८२ मा देखिएको थियो, जतिबेला मनसुन १४ दिन ढिलो गरी जुन २७ मा मात्र प्रवेश गरेको थाल्यो। यस्तै सन् १९८३ मा ११ दिन, सन् २००९ मा १० दिन, सन् १९९२ मा ८ दिन र सन् २०१९ मा ७ दिन ढिलो गरी मनसुन भित्रिएको थियो।

अमेरिकी राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासन (NOAA) र संयुक्त राष्ट्र सङ्घीय विश्व मौसम सङ्गठन (WMO) ले उष्णकटिबन्धीय प्रशान्त क्षेत्रमा एल निनो अवस्था सक्रिय भइसकेको जनाएका छन्। वैज्ञानिकहरूका अनुसार यो वर्ष ‘सुपर एल निनो’ का रूपमा परिणत हुन सक्ने ६३ प्रतिशत सम्भावना छ । यसले प्रशान्त महासागरको तापक्रम औसतभन्दा ३ डिग्री सेल्सियससम्म बढाउन सक्छ। यो वृद्धि इतिहासकै सबैभन्दा बलियोमध्ये एक हुनेछ, जसका कारण सन् २०२७ विश्वकै सबैभन्दा तातो वर्ष बन्न सक्ने अनुमान गरिएको छ।

यसअघि सन् १८७६-१८७८ को एल निनोका कारण विश्वभर भीषण खडेरी र अनिकाल लाग्दा भारत र चीनसहित एसिया र अफ्रिकामा गरी ५ करोडभन्दा बढी मानिसको मृत्यु भएको इतिहास छ। यस्तै, सन् १९८२/८३, १९९७/९८ र २०१५/१६ मा पनि यसले विश्व अर्थतन्त्र र मानव जीवनमा गम्भीर क्षति पुर्‍याएको थियो।

नेपालको आकाशमा मनसुनी प्रणाली ढिलो गरी प्रवेश गर्दा र कमजोर हुँदा देशको समग्र अर्थतन्त्र र कृषि क्षेत्र, विशेष गरी धान रोपाइँमा गम्भीर असर पर्ने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाकी प्रवक्ता विभूती पोखरेलका अनुसार विभागले यस वर्षको प्रणालीलाई अत्यन्तै सुक्ष्म रूपमा अनुगमन गरिरहेको छ।

विज्ञहरूले यस वर्ष सरदरभन्दा कम वर्षा, चर्को गर्मी, लामो खडेरी र बीच-बीचमा अचानक हुने घना वर्षा (क्लाउड बर्स्ट) तथा हिमाली क्षेत्रमा हिमताल विस्फोटनको जोखिम औंल्याएका छन्। विभागले लामो खडेरीको जोखिमबाट बच्न पिउने पानी र सिँचाइका लागि सरकारी तथा सामुदायिक स्तरमा पानी संकलन र भण्डारणका उपाय अपनाउन तथा मौसम महाशाखाको नियमित सूचनाका आधारमा पूर्वतयारी गर्न कृषक र सर्वसाधारणमा विशेष अनुरोध गरेको छ।

यद्यपि, वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार हाल एल निनोको प्रारम्भिक विकास चक्र रहेकाले र इन्डियन ओसन डाइपोल (IOD) को अवस्थाले पनि प्रभाव पार्ने हुँदा, आगामी मनसुनको वास्तविक व्यवहार कस्तो रहन्छ भन्ने कुरा नियमित मनिटरिङपछि थप स्पष्ट हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट