Techie IT
२०८३ असार ८, सोमबार

कोशीमा मनसुनी वर्षा, लुम्बिनी र सुदूरपश्चिममा तातो लहर


हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा मनसुनी वायु सक्रिय भइरहँदा देशका अन्य भू-भागमा भने पश्चिमी र स्थानीय वायुको असर कायम छ।

अहिले कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली भएको छ। मधेस र बागमती प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहे पनि लुम्बिनी र कर्णाली प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा छ। यतिबेला कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

सोमबार दिउँसो र राति पनि देशका हिमाली तथा पहाडी क्षेत्र र कोशी प्रदेशको तराई भू-भागमा साधारणतया बदली रहनेछ। मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना रहँदा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ।

मौसमविद्हरूका अनुसार कोशी प्रदेशका केही स्थानहरूका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको अनुमान गरिएको छ। तराईतर्फ कोशी प्रदेशका थोरै स्थान र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना रहँदा तराई क्षेत्रमा भने अत्यधिक गर्मीले जनजीवन प्रभावित बन्ने देखिन्छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा तातो लहर अर्थात् ‘लु’ चल्ने सम्भावना छ। साथै, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि अत्यधिक गर्मीका कारण जनजीवन कष्टकर हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट