Techie IT
२०८३ असार २७, शनिबार

काठमाडौँ उपत्यकासहित देशका ३६ जिल्लामा आकस्मिक बाढीको खतरा


देशभर मनसुनी वायुको प्रभाव तीव्र भएसँगै जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ । 

मनसुनको न्यून चापीय रेखा नेपालको दक्षिणी भू-भाग नजिक रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली भई कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले शनिबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार आज काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।

यस्तै, देशका अन्य ३१ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले उल्लेख गरेको छ । 

नुवाकोट, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथर, खोटाङ, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, कास्की, रसुवा, धादिङ, बारा, पर्सा, रौतहट, कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, प्युठान, जाजरकोट, जुम्ला, दार्चुला र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ । यी नदीहरूमा आकस्मिक बाढीको जोखिम रहने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आवश्यक देखिएको छ ।

हालको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती लगायतका ठूला नदी तथा यिनका सहायक नदीहरूको बहाव भने सतर्कता तह भन्दा तलै रहेको छ । 

यद्यपि, आगामी दुई दिन अर्थात् असार २८ र २९ गते पनि देशभरका नदीहरूमा बाढीको जोखिम कायमै रहने पूर्वानुमान गरिएको छ । आगामी दुई दिन सातै प्रदेश भई बहने स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता र पूर्वसावधानी अपनाउन अनुरोध गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट