Techie IT
२०८३ श्रावण ७, बिहीबार

युरोपमा तापक्रम वृद्धिले रित्यायो माटो र नदीको आद्रता

रातको समयमा तापक्रम २० डिग्री सेल्सियसभन्दा तल नझर्ने अवस्थालाई 'ट्रपिकल नाइट' (Tropical Night) भनिन्छ।


मानव गतिविधिका कारण तीव्र बनेको जलवायु परिवर्तनले युरोपमा खडेरी र तातो लहरलाई इतिहासकै गम्भीर मोडमा पुर्‍याएको नयाँ अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका छन्। कोपर्निकस जलवायु परिवर्तन सेवा (C3S) र विश्व मौसम विज्ञान सङ्गठन (WMO) को पछिल्लो तथ्याङ्कअनुसार जुन २०२६ पश्चिमी युरोपको इतिहासकै सबैभन्दा तातो जुन महिना बनेको छ।

विश्व मौसम एट्रिब्युसन (WWA) समूहका वैज्ञानिकहरूका अनुसार वर्षाको कमी मात्र नभई बढेको तापक्रमका कारण माटो, नदी र तालबाट आद्रता तीव्र रूपमा वाष्पीकरण हुनु युरोपको खडेरीको मुख्य कारण बनेको छ । इम्पेरियल कलेज लन्डनमा कार्यरत अध्ययनकी सहलेखक डा. मरियम जचारियाका अनुसार तातो हावाले जमिन र वनस्पतिबाट नमी (आद्रता) द्रुत गतिमा सोस्ने गर्छ। वैज्ञानिक सिद्धान्तअनुसार तापक्रम प्रत्येक १ डिग्री सेल्सियस बढ्दा वायुमण्डलले करिब ७ प्रतिशत बढी जलवाष्प धारण गर्न सक्छ। "अहिलेको वायुमण्डल पहिलेभन्दा धेरै 'तिर्खाएको' अवस्थामा छ," डा. जचारियाले भन्नुभयो, "यसले गर्दा पहिले सामान्य मानिने वर्षाको कमीले पनि अहिले भीषण खडेरी निम्त्याइरहेको छ।"

अध्ययनले पूर्व-औद्योगिक काल (१८५०–१९००) को तुलनामा पश्चिमी युरोपमा अत्यधिक सुक्खा माटो हुने सम्भावना ५ गुणा र पूर्वी युरोपमा ११ गुणा बढेको देखाएको छ। विश्व मौसम विज्ञान सङ्गठनका जलवायु सूचना प्रमुख जोन केनेडीका अनुसार विगत ५० वर्षमा युरोपको औसत तापक्रम करिब २ डिग्री सेल्सियसले बढेको छ। पूर्व-औद्योगिक समयको तुलनामा विश्वको औसत तापक्रम १.४ डिग्री सेल्सियस बढेको छ भने युरोप विश्वकै सबैभन्दा तीव्र गतिमा तातिरहेको महाद्वीप बनेको छ।

जुन महिनामा पश्चिमी युरोपको औसत तापक्रम २०.७४ डिग्री सेल्सियस पुगेको थियो, जुन १९९१–२०२० को औसतभन्दा ३.०५ डिग्री सेल्सियस बढी हो। यस क्रममा धेरै देशहरूमा नयाँ रेकर्ड कायम भएका छन् ।

जर्मनीको कोस्चेनमा ४१.७ डिग्री सेल्सियस तापक्रम मापन भयो भने २५२ वटा मौसम केन्द्रमा अहिलेसम्मकै उच्च तापक्रमको नयाँ रेकर्ड बनेको छ । फ्रान्समा २५ जुनमा औसत राष्ट्रिय तापक्रम ३०.०डिग्री सेल्सियस पुग्यो भने पुल्लुवा (Pulluau) मा ४३.८ डिग्री सेल्सियस सम्म तापक्रम रेकर्ड गरिएको छ ।

अन्य देशहरू जस्तै स्पेन (४२.७ डिग्री सेल्सियस), हंगेरी (४०.७ डिग्री सेल्सियस), पोल्यान्ड (४०.५ डिग्री सेल्सियस), अस्ट्रिया (४०.० डिग्री सेल्सियस) र बेलायत (३७.३ डिग्री सेल्सियस) मा पनि जुन महिनाका ऐतिहासिक रेकर्डहरू तोडिएका छन् ।

वैज्ञानिकहरूले दिउँसोको अधिकतम तापक्रमभन्दा रातिको न्यूनतम तापक्रम नघट्नु स्वास्थ्यका लागि अझ बढी घातक हुने चेतावनी दिएका छन्। रातको समयमा तापक्रम २० डिग्री सेल्सियसभन्दा तल नझर्ने अवस्थालाई 'ट्रपिकल नाइट' (Tropical Night) भनिन्छ। जर्मनीको पूर्वी सेक्सोनीमा रातको न्यूनतम तापक्रम नै २९.४ डिग्री सेल्सियससम्म पुगेको थियो।

विश्व स्वास्थ्य सङ्गठन (WHO) र विश्व मौसम विज्ञान सङ्गठनका स्वास्थ्य सल्लाहाकार डा. आर्गेल क्यास्टेलानका अनुसार, "मानव शरीरलाई दिनभरको तातोबाट सम्हाल्ल रातको शीतल वातावरण चाहिन्छ। तर रात पनि तातो भइरहँदा शरीरले विश्राम पाउँदैन, जसले गर्दा वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरूमा ज्यान जाने जोखिम ह्वात्तै बढ्छ।" तातो लहरकै कारण फ्रान्स र इबेरियन प्रायद्वीपमा भीषण डढेलो फैलिएको छ भने पोखरीमा डुबेर र तातोका कारण हजारौँ मानिसको अकालमा मृत्यु भएको अनुमान गरिएको छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु विपद्हरू अझ विनाशकारी र महँगो बन्दै गएको चेतावनी दिँदै 'इन्निओ' (El Niño) को प्रभावले विश्वव्यापी खाद्य र जल प्रणालीमा थप असर पार्न सक्ने बताएका छन् ।

विश्व मौसम विज्ञान सङ्गठन र विश्व स्वास्थ्य सङ्गठनले जोखिममा रहेका समुदायलाई समयमै सचेत गराउन 'अर्ली वार्निङ फर अल' (Early Warnings for All) र 'हिट-हेल्थ एक्शन प्लान' मार्फत चेतावनी प्रणाली र पूर्वतयारी रणनीतिहरू कार्यान्वयनमा ल्याएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट