कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा

ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र सिदिङ्वा धामको प्रचारप्रसार र प्रवर्द्धनका लागि यही जेठ १५–१७ गते तीनदिने पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।
सामुद्रिक सतहबाट तीन हजार ५१५ मिटर उचाइमा अवस्थित सिदिङ्वा धाम जैविक विविधताले भरिएको रमणीयस्थल हो । धार्मिक महत्वका साथै पर्यटन सम्भावनाले भरिपूर्ण यस क्षेत्रको समग्र विकासका लागि सिदिङ्वा धाम महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाभित्रका अन्य प्रमुख पर्यटकीय गन्तव्य ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, कालीपोखरी, हात्तीढुङ्गालगायत स्थलको प्रचारप्रसार र प्रवर्द्धन पनि महोत्सवमार्फत गरिने छ । जैविक विविधताको संरक्षण, ग्रामीण तथा अन्तरराष्ट्रिय पर्यटनको विकास र सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो ।
गाउँपालिका अध्यक्ष मानबहादुर राईले सिदिङ्वा धाम अन्तरराष्ट्रिय जैविक मार्गका रूपमा परिचित धार्मिक पर्यटकीय क्षेत्र भएकाले महोत्सवले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार पर्यटन गतिविधि बढेसँगै गाउँपालिकाको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने छ ।
गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले सिदिङ्वा धाम कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार भए पनि पर्याप्त प्रचारप्रसार नहुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताइन् । उनका अनुसार महोत्सवले स्थानीय तथा बाह्य पर्यटक आकर्षण बढाउने छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विकका अनुसार महोत्सवमा सिदिङ्वा धाम दर्शन यात्रा, खेलकुद प्रतियोगिता, स्थानीय उत्पादनको प्रदर्शनी, सांस्कृतिक प्रस्तुतिलगायत विविध गतिविधि रहने छन् ।
तीनदिने महोत्सवमा वडास्तरीय भलिबल प्रतियोगिता हुने छ । प्रतियोगिताका विजेतालाई नगद रु ५० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने छ भने उपविजेताले रु ३० हजार पुरस्कार पाउने छन् । त्यसैगरी, हाफ म्याराथन प्रतियोगिता पनि हुने छ, जसमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ४०, ३० र २० हजार पुरस्कार पाउने छन् । सांस्कृतिक कार्यक्रमअन्तर्गत नौमती बाजा, च्याब्रुङ नाच (केःलाङ) तथा स्थानीय जातजातिका संस्कार–संस्कृति प्रदर्शन गरिने गाउँपालिकाले जनाएको छ ।
धार्मिक पर्यटनको दृष्टिले सिदिङ्मा धाम पछिल्लो समय आन्तरिक पर्यटकबीच लोकप्रिय बन्दै गएको छ । पछिल्लो समयमा भ्रमण गर्ने आन्तरिक पर्यटक उल्लेख्य वृद्धि भएको स्थानीय कैलाश राईले बताए । उनका अनुसार यसअघि सीमित पर्यटक मात्र पुग्ने सिदिङ्मा धाममा अहिले बढ्दो सङ्ख्यामा पर्यटक आउन थालेका छन् । धाम सिदिङ्वा गाउँपालिका–२ सादेवा र वडा नं ३ आङ्खोपको सीमामा अवस्थित छ । अहिले सिक्रेडाँडासम्म सडक पुगेपछि अझ सुलभ बनेको छ । सिक्रेडाँडाबाट सिदिङ्मासम्म करिब अढाइ घण्टाको पैदलयात्रा गर्नुपर्छ ।
यहाँबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्गा, पाथीभरा (मुक्कुमलुङ), तिम्बुङ पोखरी, भारतका सिक्किम र दार्जिलिङका रमणीय दृश्य नजिकबाट अवलोकन गर्न सकिन्छ । धार्मिक मान्यताअनुसार सिदिङ्मा धामलाई सिद्ध नामक ऋषिले तपस्या गरेर मनोकाङ्क्षा पूरा गरेको स्थल मानिन्छ । दर्शनार्थीहरू यहाँ आफ्नो इच्छा पूरा हुने विश्वाससहित पूजाआजा गर्न पुग्ने गर्छन् । स्थानीयका अनुसार विशेषगरी वैशाख र असोजमा तथा ऋषि तर्पणीको समयमा सिदिङ्मामा उल्लेख्य सङ्ख्यामा धार्मिक पर्यटक पुग्ने गर्छन् ।
गाउँपालिका उपाध्यक्ष कडरियाले प्रचारप्रसारको अभावले पर्यटकको सङ्ख्या कम रहेको उल्लेख गर्दै पछिल्लो समय सामाजिक सञ्जाललगायत माध्यमले यस क्षेत्रमा पर्यटक बढ्न थालेको बताएकी छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस