Techie IT
२०८२ फागुन १०, आइतबार

चिसो घटेसँगै मुक्तिनाथ मन्दिरमा भक्तजनको घुइँचो


मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा चिसो घटेसँगै दर्शनार्थीको घुइँचो बढ्न थालेको छ। हिउँदयाममा घटेको दर्शनार्थीको संख्या फागुन लागेसँगै पुनः वृद्धि भएको हो।

मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार अहिले दैनिक चार हजारदेखि पाँच हजारसम्म धार्मिक पर्यटक तथा दर्शनार्थी मन्दिरमा पुग्ने गरेका छन्। पुस–माघ महिनामा चिसोका कारण आंशिक रूपमा मात्र भक्तजन आउने गरेकामा मौसम सुधारिएसँगै संख्या बढेको उनले बताए।

मुस्ताङमा हिउँदयाम सकिँदै गर्मीयाम सुरु हुन लागेकाले आगामी दिनमा दर्शनार्थीको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ। दर्शनार्थीको व्यवस्थापन, सरसफाइ, खानपान र सुरक्षालाई ध्यान दिँदै समितिले विशेष तयारी गरेको जनाएको छ।

दर्शनलाई सहज बनाउन भक्तजनलाई लाइनबद्ध गर्ने, स्वच्छ पानी तथा खानपानको व्यवस्था गर्ने, लेक लाग्ने समस्याबाट बचाउन अक्सिजनसहित स्वास्थ्यकर्मी परिचालन गर्ने तथा स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको छ। १०८ धारा र कुण्डमा स्नान गर्ने दर्शनार्थीका लागि आगो ताप्ने व्यवस्था समेत गरिएको समितिले जनाएको छ।

हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र मानिने मुक्तिनाथमा दर्शन गर्नाले पापबाट मुक्ति पाइने धार्मिक विश्वास छ। भगवान् विष्णुको वासस्थान मानिने यस धाममा वर्षेनी हजारौँ भक्तजन पुग्ने गरेका छन्।

यद्यपि, पर्याप्त पूर्वाधार अभावका कारण भक्तजनले समस्या भोग्नुपरेको स्थानीयले बताएका छन्। मन्दिरको मुख्य प्रवेशद्वार साँघुरो भएकाले भीडमा आवतजावत कठिन हुने गरेको छ। साथै पर्याप्त शौचालय र कपडा परिवर्तन गर्ने कोठा नहुँदा पनि असहज हुने गरेको बताइएको छ।

समितिले भक्तजनमैत्री पूर्वाधार निर्माणका लागि आठ वटा योजना अघि बढाउँदै पुरातत्व विभागमा प्रस्ताव पठाएको जनाएको छ। प्रस्ताव स्वीकृत नहुँदा निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन।

पछिल्लो समय बेनी–जोमसोम सडक सहज बनेपछि मुस्ताङ र मुक्तिनाथ जाने पर्यटकको संख्या बढ्दै गएको छ। धार्मिक पर्यटक बढेसँगै स्थानीय पर्यटन व्यवसाय पनि चलायमान बन्न थालेको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २२ हजार ५५८ पर्यटक मुस्ताङ भित्रिएका छन्। गत आर्थिक वर्षमा सात लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगेका थिए।

विशेषगरी सोह्र श्राद्ध, औँसी, चैते दशैँ र बडादसैँका बेला मुक्तिनाथमा धार्मिक पर्यटकको आगमन अत्यधिक हुने गरेको समितिले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट