वर्षा र सहकालका देवताको जात्रा समापन हुँदै: भोटोजात्रापछि मच्छिन्द्रनाथलाई बुङ्मती फर्काइने
नेपालकै सबैभन्दा लामो सांस्कृतिक एवं धार्मिक पर्वका रूपमा परिचित, करिब एक हजार ६०० वर्ष पुरानो रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार औपचारिक रूपमा सम्पन्न हुँदैछ। राष्ट्र प्रमुख (राष्ट्रपति) को उपस्थितिमा जावलाखेलमा भोटो देखाएसँगै यस वर्षको जात्रा समापन हुनेछ।
ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काका अनुसार जावलाखेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी अन्तिम चरणमा पुगेको छ। परम्पराअनुसार यस वर्ष पनि सर्वसाधारण तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा भोटो प्रदर्शन गरिने उनले जानकारी दिए।
वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको यस रथयात्रामा भगवान् रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल र कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो प्रदर्शन गर्ने ऐतिहासिक प्रचलन रहेको छ।
संस्कृतिविद्हरूका अनुसार वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालको प्राचीन तथा विशिष्ट सांस्कृतिक सम्पदामध्ये एक हो। राजतन्त्रकालमा भोटोजात्रामा राजा उपस्थित हुने परम्परा रहेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिले उक्त समारोहमा सहभागिता जनाउँदै आएका छन्।
भोटो देखाउने जात्रा सम्पन्न भएलगत्तै रातो मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखी बाजागाजासहित जावलाखेलबाट बुङ्मतीस्थित मच्छिन्द्रबहालमा पुर्याएर विराजमान गराइने परम्परा छ।
यस वर्षको जात्रा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको बताउँदै वडाध्यक्ष खड्काले भोटोजात्रामा आउने भक्तजन तथा दर्शकलाई सुरक्षा र व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका छन्। साथै, जात्राको गरिमा र सहजतालाई ध्यानमा राख्दै जावलाखेल क्षेत्रको फुटपाथमा व्यापार नगर्न-नगराउन समेत उनले सम्बन्धित सबैलाई सचेत गराएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस