Techie IT
२०८३ भाद्र १, सोमबार

प्रकृति र आस्थाको पर्व नागपञ्चमी आज मनाइँदै


श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइँदैछ। यस दिन घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर टाँसेर पूजाआजा गर्ने चलन छ।

यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन यो पर्व पर्न गएको हो। घरको ढोकामा नागको तस्बिर टाँस्दा वर्षभरि नाग, सर्प र बिच्छीलगायतका जीवबाट दुःख नपाइने तथा अग्नि, मेघ र चट्याङको भयबाट समेत बच्न सकिने धार्मिक विश्वास रहिआएको छ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा भनिन्छ। नाग रिसाएमा पानीको अभाव हुने जनविश्वास रहेकाले पानीको सन्तुलन मिलाउन र नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए।

सनातन कालदेखि नै नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन छ। भगवान् शिवले नागको माला पहिरिने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा शयन गर्ने भएकाले दुवैलाई नागकै रूपमा पूजिन्छ। यसैगरी, प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको हातमा पनि नाग सुशोभित छ भने रामका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई शेषनागकै अवतार मानिन्छ। भगवान् बुद्ध र जैन तीर्थङ्करका मूर्तिको शिरमा समेत सर्पाकार मुकुट रहने गरेको पाइन्छ।

नागपञ्चमीका विषयमा विभिन्न किंवदन्तीहरू प्रचलित छन्। एक किसानले खेत खन्दा नागका तीन बच्चा मर्न पुगेपछि नागिनी रिसाएर किसानको परिवार नै सखाप पारेकी थिइन्। तर, किसानकी छोरीले नागिनीको सोह्र उपचार (षोडषोपचार) विधिले पूजा आराधना गरी दूध चढाएर प्रसन्न पारेकी थिइन्।

नागिनीले प्रसन्न भई मागेको वरदानअनुसार किसानका मृत परिवारलाई जीवनदान दिएकी थिइन्। नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी नै भएकाले त्यसै समयदेखि नाग पूजा गर्ने परम्परा बस बसेको जनविश्वास छ।

वैज्ञानिक रूपमा पनि प्रकृतिमा रहेका विषालु पदार्थलाई नाग र सर्पलगायतका जीवले नियन्त्रण गरी वातावरण स्वच्छ राख्न सघाउने गर्छन्। यही कारणले ऋषिमुनिहरूले नागजातिको पूजाआजा गर्ने रीत बसालेको मानिन्छ।

आज राजधानीको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र विभिन्न नागस्थानहरूमा पूजाआजा गर्ने भक्तजनहरूको घुइँचो लाग्ने गर्छ। नागपञ्चमीको पर्वसँगै सनातन धर्मावलम्बीहरूको चाडपर्वको याम (सिजन) औपचारिक रूपमा सुरु भएको मानिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट