बेइजिङमा भिषण बाढीमा परी ३० को मृत्यु, ८० हजारलाई अन्यत्र सारियो

चीनको राजधानी बेइजिङमा भीषण वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको ज्यान गएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार मृत्यु हुनेमध्ये २८ जना म्युन जिल्लामा र २ जना याङ्किङ जिल्लामा रहेका छन्।
सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सोमबार मध्यरातसम्म परेको अविरल वर्षाले सहरका पहाडी उत्तरी भागहरूमा ठुलो क्षति पुर्याएको छ। बेइजिङले हालैको दिनहरूमा ५४३ मिलिमिटर (२१.३ इन्च) सम्मको वर्षा मापन गरेको छ, जुन असामान्य मानिन्छ।
साताको अन्त्यदेखि सुरु भएको लगातारको वर्षाले बेइजिङसहित वरपरका प्रान्तहरूमा जनजीवन प्रभावित भएको छ। बाढीको चपेटामा परेका क्षेत्रहरूबाट ८० हजारभन्दा बढी स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको सरकारी टेलिभिजन सिसिटिभी ले जनाएको छ।
बाढीका कारण दर्जनौं सडकहरू क्षतिग्रस्त भएका छन् भने कम्तीमा १३६ गाउँहरूमा विद्युत आपूर्ति अवरुद्ध भएको बताइएको छ। साथै, मियुन जिल्लामा रहेको जलाशयमा पानीको स्तर उच्चतम बिन्दुमा पुगेपछि त्यहाँबाट नियन्त्रित रूपमा पानी छोडिएको छ। यो जलाशय सन् १९५९ मा निर्माण भएको हो।
अधिकारहरूका अनुसार मंगलबार बिहान पुनः भारी वर्षाको सम्भावना रहेको छ, केही स्थानमा ११.८ इन्चसम्मको वर्षा हुन सक्ने अनुमान गरिएको छ। आगामी दिनहरूमा थप क्षति रोक्न स्थानीय बासिन्दाहरूलाई सतर्क रहन, नदी तथा पहाडी खोलाहरूको नजिक नजान निर्देशन दिइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस