Techie IT
२०८२ भाद्र १७, मंगलबार

अफगानिस्तान भूकम्प अपडेट : ६२२ को मृत्यु, १५ सयभन्दा बढी घाइते


अफगानिस्तानमा गएको ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२२ पुगेको छ। भूकम्पमा १५ सयभन्दा बढी घाइते भएका छन्।

भूकम्पले पूर्वी प्रान्त कुनारका तीन गाउँ पूर्णरूपमा ध्वस्त बनाएको छ। कुनारमा मात्रै ६१० जनाको ज्यान गएको छ भने नङ्गरहारमा १२ जनाको मृत्यु भएको छ। खोजी र उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

भूकम्पको केन्द्र जलालावाद शहरदेखि २७ किलोमिटर टाढा र १० किलोमिटर गहिराइमा थियो। धक्का पाकिस्तानको राजधानी इस्लामावादलगायत झण्डै ४०० किलोमिटर टाढासम्म महसुस गरिएको थियो।

मध्यरातमा गएको भूकम्पले माटो र ढुंगाले बनेका ग्रामीण बस्तीका धेरैजसो घर भत्किएका छन्। सञ्चारमाध्यममा सार्वजनिक भएका भिडियोमा हेलिकोप्टरमार्फत प्रभावितहरूको उद्धार भइरहेको देखिन्छ। भग्नावशेषभित्र फँसेकाहरूलाई निकाल्ने प्रयास तीव्र पारिएको अधिकारीहरूले जनाएका छन्।

गृहयुद्धको पीडाबाट उठ्न खोजिरहेको अफगानिस्तानलाई यस भूकम्पले फेरि गहिरो संकटमा धकेलेको छ। मानवीय संकटसँग जुधिरहेको देशले अन्तर्राष्ट्रिय सहयोगमा समेत तीव्र कटौती भोगिरहेको छ।

तालिबान सरकारको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल मतेन क्वानीले पूर्वी प्रान्त कुनार र नङ्गरहारमा ठूलो धनजन क्षति भएको जनाउँदै भने, “पूर्ण सहायताका लागि उद्धार र राहतमा हाम्रा सबै टोली परिचालित छन्। सुरक्षा, स्वास्थ्य सेवा र खाद्य सामग्री वितरणका लागि निरन्तर प्रयास भइरहेको छ।”

काबुलस्थित अधिकारीहरूले ग्रामीण क्षेत्रमा उद्धारकर्मीहरू परिचालित भएको जनाएका छन्। अफगानिस्तान भूकम्प र बाढीले प्रायः प्रभावित हुने मुलुक हो। सन् २०२२ मा त्यहाँ गएको ६.१ म्याग्निच्युडको भूकम्पमा झण्डै एक हजार मानिसले ज्यान गुमाएका थिए। गएरातिको यो भूकम्प त्यसयताकै ठूलो भएको बताइन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट