खोलामा डुबेर १० जनाको मृत्यु

सोमबार र मंगलबार विभिन्न जिल्लामा डुबेर १० जनाको मृत्यु भएको छ।
नुवाकोट: लिखु गाउँपालिका-४, गड्खार बस्ने ६५ वर्षीय पूर्ण बहादुर राई तादी खोलाले बगाएर मृत्यु भएका छन्। खोलाले बगाएर बेपत्ता भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्दा उनको शव फेला परेको हो।
सुनसरी: हरिनगरा गाउँपालिका-१, भुटहा बस्ने ३ वर्षीय फरान साफी आफ्नै घरको आँगनमा जमेको पानीमा डुबेर सोमबार साँझ मृत्यु भएका छन्। डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको हो।
धनुषा: जनकपुरधाम उपमहानगरपालिका-२१, कुर्था बस्ने ६ वर्षीय यन्स महासेठ इम्ली पोखरीमा डुबेर सोमबार साँझ मृत्यु भएका छन्। डुबेर अशक्त भएका उनको जानकी हेल्थ केयर, जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
चितवन: राप्ती नगरपालिका-२, गड्यौली बस्ने ७ वर्षीय आयुष बर्तौलाको घर नजिकै जमेको पानीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ। उनको उपचार नयाँ मेडिकल कलेज, भरतपुरमा भइरहेको अवस्थामा मृत्यु भएको हो।
सर्लाही: मलंगवा नगरपालिका-५, भाडसरस्थित लखनदेही खोलाले बगाएर १८ वर्षीय ओम ठाकुर मंगलबार दिउँसो मृत्यु भएका छन्। अशक्त भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो।
रौतहट: देवाही गोनाही नगरपालिका-६, कर्कच टोलमा खेतको पानी बग्ने ठाउँ (भंगालो) मा डुबेर १२ वर्षीया आरती कुमारी र ११ वर्षीया अन्तिमा कुमारी सोमबार दिउँसो मृत्यु भएकी छन्। बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी खटिएको र मंगलबार शव फेला परेको हो।
प्रहरीले घटनासँग सम्बन्धित आवश्यक अनुसन्धान जारी राखेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस