विपद अपडेटः २४ घण्टामा ३ जनाको मृत्यु
सांकेतिक
मौसम बदलीसँगै पछिल्लो २४ घण्टामा भएको हावाहुरी, चट्याङ र असिनापानीका कारण तीन जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ३० जिल्ला प्रभावित भएका छन्। चट्याङ लागेर एक जना र हावाहुरीका कारण दुई जनाको मृत्यु भएको पुष्टि भएको छ।
कुल ४१ वटा विपद्जन्य घटनामध्ये चट्याङबाट तीन जना र हावाहुरीबाट दुई जना घाइते भएका छन्।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार हावाहुरीका १७ र चट्याङका पाँच घटना भएका थिए। ती घटनामा छ वटा पशुचौपाय मरेका छन् भने नौ लाख रुपैयाँभन्दा बढी क्षति भएको विवरण सार्वजनिक गरिएको छ।
नेपालमा पछिल्लो एक सातादेखि लगातार मौसम बदली भई हावाहुरी, चट्याङ र असिनापानी भइरहेको छ। मौसम विज्ञान विभागले यस्तो मौसम प्रणाली अझै केही दिन जारी रहने चेतावनी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस