एक वर्षमा ७,६४८ विपद्का घटना, आगलागी नै सबैभन्दा ठूलो जोखिम
देशभर एक वर्षको अवधिमा कुल ७ हजार ६४८ वटा विपद्का घटना दर्ता हुँदा आगलागी र डढेलोसँग सम्बन्धित घटना सबैभन्दा बढी रहेको तथ्य सार्वजनिक भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का अनुसार यस्तो अवस्था देखिनुले आगलागी नियन्त्रण र रोकथामका लागि सरकारी निकायले अझ बढी सक्रियता देखाउनुपर्ने आवश्यकता औंल्याएको छ।
प्राधिकरणका अनुसार आगलागी तथा त्यससँग जोडिएका घटनाको संख्या उच्च हुनुको मुख्य कारण सावधानीको कमी, जनचेतनाको अभाव तथा वन क्षेत्रमा सुक्खा घाँस–दाउरा जस्ता ज्वलनशील पदार्थमा आगो लगाउने प्रवृत्ति रहेको छ। यसले ठूलो मात्रामा जनधनको क्षति निम्त्याएको छ।
गत वैशाख १ देखि चैत २७ गतेसम्म देशभर ३ हजार ७२० वटा आगलागीका घटना भएका छन्। ती घटनामा परी १०५ जनाको ज्यान गएको छ भने ५७१ जना घाइते भएका छन्। साथै ४ हजार २६० परिवार प्रभावित भएका छन्।
त्यस्तै, सोही अवधिमा ३२८ वटा डढेलोका घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। डढेलोबाट ५८ परिवार प्रभावित भएका छन्।
प्राधिकरणले आगलागीबाट जोगिन ज्वलनशील पदार्थलाई सुरक्षित दूरीमा राख्ने, सचेतना अभिवृद्धि गर्ने र आवश्यक सावधानी अपनाउने आग्रह गर्दै आएको छ। पछिल्लो तथ्याङ्कअनुसार चैत २७ गते बिहानदेखि २८ गते बिहानसम्म मात्र १९ विपद्का घटना हुँदा १६ वटा आगलागीका घटना रहेका छन्।
सुक्खा मौसममा आगलागीका घटना बढ्ने भएकाले उच्च सतर्कता अपनाउन प्राधिकरणले पुनः अनुरोध गरेको छ। वन तथा वातावरण मन्त्रालय ले पनि डढेलो तथा आगलागी नियन्त्रणका लागि आफ्ना निकायलाई सक्रिय रूपमा परिचालन गरेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस