शक्तिशाली भूकम्पपछि फिलिपिन्समा सुनामीको ताण्डव
फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परेर कम्तीमा ३ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ भने अन्य ५ जना घाइते भएका छन्।
भूकम्पका कारण हालसम्म ३७ वटा व्यावसायिक तथा आवासीय भवनहरूमा ठूलो क्षति पुगेको विवरण प्राप्त भएको छ।
शक्तिशाली भूकम्पपछि फिलिपिन्सको दक्षिणी क्षेत्रमा सुनामीका विनाशकारी छालहरू रेकर्ड गरिएका छन्। फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थान (फिभोल्क्स) का अनुसार मिन्डानाओका ६ वटा तटीय स्थानमा सुनामीका छालहरू मापन गरिएको छ।
स्थानीय समयअनुसार बिहान ७:४२ देखि ८:४५ बजेसम्म निरन्तर आएका छालहरूमध्ये सबैभन्दा ठूलो छालको उचाइ १.४ मिटरसम्म पुगेको फिभोल्क्सले जनाएको छ। फिभोल्क्सले फिलिपिन्सका तटीय क्षेत्रहरूका लागि जारी गरेको सुनामी चेतावनी अझै कायम राखेको छ। अधिकारीहरूले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छन्।
भूकम्पपछि स्थानीय समयअनुसार बिहान ११ बजेसम्म १.३ देखि ६.७ म्याग्निच्युडका १३८ वटा परकम्पन (आफ्टरशक्स) रेकर्ड भइसकेका छन्। भूकम्पविद्हरूले आगामी केही दिनसम्म शक्तिशाली परकम्पन आउन सक्ने चेतावनी दिँदै सर्वसाधारणलाई सुरक्षित रहन अपिल गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस