Techie IT
२०८३ असार १९, शुक्रबार

भेनेजुएलामा विध्वंसकारी भूकम्पको ८ दिनपछि सुरक्षा गार्डको जीवितै उद्धार


भेनेजुएलामा गएको विध्वंसकारी भूकम्पको ८ दिनपछि बिहीबार बिहान भग्नावशेषमा पुरिएका एक सुरक्षा गार्डलाई जीवितै उद्धार गरिएको छ। अन्तर्राष्ट्रिय उद्धारकर्ताहरूको संयुक्त टोलीले ४३ वर्षीय सुरक्षा गार्ड एर्नान अल्बर्टो गिल फ्लोरेसलाई भत्किएको एक सपिङ सेन्टरको बेसमेन्टबाट सकुशल बाहिर निकाल्न सफल भएको हो।

फ्लोरेस गत जुन २४ तारिखमा भेनेजुएलाको ला गुएरा सहरस्थित 'ग्यालेरियास प्लाया ग्रान्डे' सपिङ सेन्टरको बेसमेन्टमा पुरिएका थिए। उद्धारकर्ताहरूले गत सप्ताहान्तमै उनीसँग सम्पर्क स्थापित गरे पनि भग्नावशेषको जटिलताका कारण जीवितै निकाल्न सकिनेमा संशय थियो।

भूकम्पको पहिलो शक्तिशाली धक्का जाँदा नाइट ड्युटीमा रहेका फ्लोरेस आफ्नो सानो सुरक्षा क्याबिन (गार्ड रूम) भित्रै थिए। उनको वरिपरिको विशाल कङ्क्रिटको संरचना भत्किएर थुप्रिए पनि बलियो क्याबिनले उनलाई थिचिनबाट जोगाएको थियो । यसका कारण उनलाई कुनै गम्भीर चोट लाग्न पाएन। कङ्क्रिटको त्यो चाङभित्र क्याबिन सुरक्षित रहँदा सास फेर्नका लागि पर्याप्त अक्सिजन उपलब्ध भयो, जसले उनलाई ८ दिनसम्म मृत्युको मुखबाट बचायो।

लामो प्रयासपछि जब उद्धार टोली फ्लोरेससम्म पुग्यो, त्यहाँको माहौल निकै भावुक बनेको थियो। उद्धार कार्यमा खटिएका कोस्टारिका रेडक्रसका अधिकारी मिन्यार कोलाडोका अनुसार पहिलो पटक सम्पर्क हुँदा फ्लोरेसले रुँदै भनेका थिए - "म बाच्छु कि बाच्छिन मलाई थाहा छैन, त्यसैले म जीवितै छु भनेर मेरी श्रीमतीलाई अहिल्यै नभनिदिनू।"

आफू कतै भित्रै नमरोस् र श्रीमतीलाई झूटो आशा नजागोस् भनेर उनले यसो भनेका थिए। कोस्टारिका रेडक्रसको विशेष टोलीले गत आइतबार पहिलो पटक फ्लोरेसले भग्नावशेष भित्रबाट दिएको सङ्केत फेला पारेको थियो।

लामो समयसम्म चरम निराशा र पीडामा छटपटाएकी उनकी श्रीमती गुस्बिमार गोन्जालेजले श्रीमान् जीवितै फर्किएको खबर पाएपछि भनिन्, "मलाई अँध्यारो सुरुङभित्र एउटा उज्यालो प्रकाशको किरण भेटिएझैँ महसुस भइरहेको छ।" यो जोडीका ८ र १० वर्षका दुई सन्तान छन्।

यो अत्यन्तै जटिल र चुनौतीपूर्ण उद्धार कार्यको नेतृत्व चिलीका फायरफाइटरहरूको टोलीले गरेको थियो। उद्धार कार्यमा अमेरिका, पोर्चुगल र मेक्सिकोलगायतका देशका अन्तर्राष्ट्रिय विशेषज्ञ टोलीहरूले दिनरात नभनी संयुक्त अपरेसन चलाएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट