Techie IT
२०८३ असार २९, सोमबार

जाजरकोटमा पहिरोले टहरो पुरिँदा एक वृद्धाको मृत्यु


सांकेतिक

जाजरकोटको भेरी नगरपालिकामा सोमबार बिहान पहिरोले अस्थायी टहरो पुरिँदा एक वृद्धाको मृत्यु भएको छ भने सोही परिवारका अन्य दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बुद्धिसागर पुरीका अनुसार भेरी नगरपालिका–२ राङ्सीमा अविरल वर्षाका कारण माथिबाट खसेको पहिरोको ढिस्कोले च्यापिँदा ७१ वर्षीया जयशिलाकुमारी शाहको घटनास्थलमै मृत्यु भएको हो। सोमबार बिहान करिब २ बजेको समयमा जस्तापाताले बनेको अस्थायी टहरामाथि पहिरो खसेको प्रहरीले जनाएको छ।

गत वर्षको विनाशकारी भूकम्पपछि सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँ अनुदानबाट मृतक शाहले उक्त अस्थायी टहरो निर्माण गरी बस्दै आएकी थिइन्। भूकम्पको पराकम्प र जोखिमबाट जोगिन बनाइएको आश्रयस्थल नै पहिरोको चपेटामा परेपछि स्थानीय स्तब्ध भएका छन्।

पहिरोमा परी मृतक शाहकी ४० वर्षीया छोरी मेनुका शाह थापा र ७ वर्षीया नातिनी टीका थापा घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट