बाजुरामा पहिरोले आधा दर्जन घरमा क्षति, गोठमा बाँधिएका गोरु मरे
अविरल वर्षासँगै आएको पहिरोले बाजुराको बडीमालिका नगरपालिका–९ मा ठूलो जनधनको क्षति पुर्याएको छ। घरमाथिबाट खसेको लेदोसहितको पहिरोले स्थानीय मोती उखेडा, धनबहादुर विक, तुले विक, परे थापा, जंग उखेडा र दीपक विक लगायतका परिवारका आधा दर्जनभन्दा बढी घरमा पूर्ण तथा आंशिक क्षति पुर्याएको छ।
पहिरोमा परी मोती उखेडाका दुईवटा गोरु गोठमै मरेका छन्।घरभित्रै पहिरो पस्दा लत्ताकपडा, भाँडाकुँडा र भित्र्याइएको अन्नपात पूर्ण रूपमा नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराका अनुसार घर र गोठ पूर्ण रूपमा क्षतिग्रस्त भए पनि मानवीय क्षति भने भएको छैन।
पहिरोका कारण प्रभावित परिवारहरू अहिले खुला आकाशमुनि वा थप जोखिमपूर्ण अवस्थामा बस्न बाध्य भएका छन्। लगातारको वर्षाका कारण जिल्लाका अन्य विभिन्न स्थानमा समेत बाढी र पहिरोले क्षति पुर्याएको प्रारम्भिक खबर आए पनि यकिन विवरण आउन बाँकी छ।



तपाईको प्रतिक्रिया दिनुहोस