आज यी राजमार्गहरु पूर्णरुपमा अवरुद्ध (सूचिसहित)

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण विभिन्न स्थानमा आएको बाढीपहिरोले सडक तथा राजमार्गहरू अवरुद्ध भएका थिए। यद्यपि, केही सडक खण्ड अहिले खुलिसकेका छन् भने अन्य केही प्रमुख राजमार्गहरू अझै ठप्प रहेका छन्। नेपाल प्रहरीले आज बिहान दिएको जानकारी अनुसार, काठमाडौं उपत्यकासहित देशभरका विभिन्न सडकहरू अझै पहिरोका कारण सवारी सञ्चालनमा कठिनाइ भइरहेको छ।
आजका लागि विदेशी मुद्राको विनिमय दर कति पुग्यो ??
काठमाडौं उपत्यकामा प्रभावित सडकहरू
काठमाडौं उपत्यकाभित्र पहिरोका कारण दक्षिणकाली नगरपालिका–८ स्थित सिस्नेरी सडकखण्ड अझै पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। यस्तै, ललितपुरको गोदावरी नगरपालिका–६ अन्तर्गत पर्ने लेले टिकाभैरव जाने सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ।
अन्य अवरुद्ध सडकहरू
मकवानपुरको कुलेखानी–मार्खु सडकखण्ड, भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडक, सिस्नेरी–दक्षिणकाली सडकखण्ड, र कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले उल्लेख गरेको छ। त्यस्तै, बीपी राजमार्ग अन्तर्गत भकुण्डेदेखि खुर्कोटसम्मको खण्ड ठप्प रहेको जानकारी आएको छ।
प्रहरीले सडकमा यात्रा गर्दा सावधानी अपनाउन तथा अनिवार्य रूपमा वैकल्पिक मार्गको प्रयोग गर्न सवारी चालकहरूलाई अनुरोध गरेको छ। यससँगै, पहिरो हटाउने र सडक मर्मतसम्भारको काम भइरहेको भए पनि अझै केही दिन समय लाग्न सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस