Techie IT
२०८३ जेष्ठ १६, शनिबार

बजेटमा सुदूरपश्चिम कसरी समेटियो ?


बझाङको साइपाल हिमाल

सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिम प्रदेशमा विशिष्ट पर्यटकीय विकास गर्ने र इतिहासमै पहिलोपटक एमबिबीएस (MBBS) तहको पढाइ सुरु गर्ने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सुदूरपश्चिमको स्वास्थ्य, पर्यटन, खेलकुद र भौतिक पूर्वाधार विकासलाई समेट्ने गरी विभिन्न योजनाहरू सार्वजनिक गर्नुभएको हो।

बजेट वक्तव्यअनुसार सुदूरपश्चिममा स्वास्थ्य शिक्षाको विस्तार र प्रादेशिक स्तरमै दक्ष चिकित्सा जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी वर्षदेखि एमबिबीएससहित चारवटा विधाका शैक्षिक कार्यक्रमहरू सुरु गरिनेछ। यो सुदूरपश्चिम प्रदेशका लागि स्वास्थ्य शिक्षाको क्षेत्रमा एक ऐतिहासिक सुरुआत हुनेछ।

सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक पर्यटनलाई प्रवर्द्धन गर्न सरकारले विशेष प्याकेज ल्याएको छ। जसअनुसार रामारोशन, खप्तड, बडिमालिका, शैलेश्वरी, उग्रतारा र मालिकार्जुन क्षेत्रलाई समेटेर 'विशिष्ट पर्यटकीय चर्तुर्दिक विकास' कार्यक्रम अघि बढाइनेछ। यसका साथै खप्तड–बडिमालिका र शुक्लाफाँटा प्रादेशिक पर्यटकीय करिडोरको प्रवर्द्धन गरिने बजेटमा उल्लेख छ। अपि हिमालको ट्रेकिङ रूट विकास गरिनुका साथै सुदूरपश्चिमका सघन दलित बस्तीहरूलाई लक्षित गरी आयआर्जन बढाउने उद्देश्यले 'नमुना होमस्टे' (सामुदायिक आवास) सञ्चालन गरिने भएको छ।

भौतिक पूर्वाधारतर्फ कञ्चनपुरमा निर्माणाधीन राष्ट्रिय गौरवको दोधारा चाँदनी सुक्खा बन्दरगाहमा एकीकृत जाँच चौकी (ICP) को निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने घोषणा अर्थमन्त्री वाग्लेले गर्नुभएको छ।यस्तै, राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कमान्ड क्षेत्र विस्तार गरिनेछ भने कञ्चनपुरकै बेलौरी–टाउन बजार ढल प्रशोधन केन्द्रलाई आगामी वर्ष सञ्चालनमा ल्याइनेछ। ऊर्जातर्फ २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन टुङ्ग्याएर ठेक्का प्रक्रिया सुरु गरिने बजेटमा उल्लेख छ।

यातायात पूर्वाधारलाई सुदृढ बनाउन पश्चिमी नाका गड्डाचौकीदेखि कोहलपुरसम्मको महेन्द्र राजमार्ग खण्डलाई चार लेनमा स्तरोन्नति गर्नका लागि आवश्यक अध्ययन सम्पन्न गरिने भएको छ। महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिइएको छ भने खुटिया–दिपायल सडक खण्डको स्तरोन्नतिको कामलाई तीव्रता दिइने बजेटमा समेटिएको छ। सुदूरपश्चिमको खेलकुद विकासका लागि कैलालीको धनगढीमा निर्माणाधीन 'फाप्ला क्रिकेट रङ्गशाला' को बाँकी काम तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट