केराको 'हब' खबरामा अनौठो रोगको महामारी
म्याग्दीको बेनी नगरपालिका-२, खबराका केरा बगैँचाहरूमा अज्ञात रोगको प्रकोप देखिएपछि स्थानीय किसानहरू चिन्तित बनेका छन् । मुख्य आयस्रोतका रूपमा रहेको केराका बोटहरू धमाधम सुक्न थालेपछि यहाँका सयभन्दा बढी व्यावसायिक किसान मर्कामा परेका हुन् । करिब १२० परिवारको बसोबास रहेको खबरामा अधिकांशको जीविकोपार्जन केराखेतीकै भरमा चल्दै आएको छ।
अगुवा किसान सोवित शर्माका अनुसार केरा पसाउने (फूल लाग्ने) समयमा टुप्पोका पातहरू पहेँलो हुने र गाना कालो भएर बोटै सुक्ने समस्या तीव्र रूपमा फैलिएको छ । "पछिल्लो एक/दुई वर्षयता यो समस्या भयावह बन्दै गएको छ, जसले खबराको केराखेतीकै अस्तित्व संकटमा पारेको छ," शर्माले भने, "कृषि प्राविधिकहरूले समेत रोगको पहिचान र उपचार गर्न नसक्दा केराखेती पूर्ण रूपमा मासिने र किसान सडकमा पुग्ने जोखिम बढेको छ ।"
अहिले खबराका प्रायः सबै बगैँचाहरूमा केराको गुभो कुहिने र बोट सुक्ने समस्या देखिएको छ । रोग नियन्त्रण बाहिर गएपछि कतिपय किसानले बाध्य भएर केराका बोटहरू मास्दै विकल्पमा बेसारखेती सुरु गरिसकेका छन् । स्थानीय किसान घनश्याम सापकोटाले रोगको कुनै उपचार नपाइएकाले केरा खेती छाडेर बेसार लगाउन थालेको दुखेसो पोखे ।
यता, कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले खबराको केराखेतीमा देखिएको यो जटिल समस्या समाधानका लागि केन्द्रिय बाली रोग प्रयोगशालासँग प्राविधिक सहयोग मागिएको बताए । "के कारणले बोट सुकेको हो र यसको अचुक समाधान के हुनसक्छ भन्नेबारे अनुसन्धान गर्न प्राविधिक टोली बोलाएका छौँ," प्रमुख बास्तोलाले भने, "बाली संरक्षण कार्यक्रममार्फत खबराको यो संकट टार्न हामी गम्भीरताका साथ लागिपरेका छौँ ।"
कुनै समय धान, गहुँ, मकै र कोदो जस्ता परम्परागत खाद्यान्न बाली छाडेर यहाँका किसानले पाखोबारी, खोल्सा र कान्लाभरि व्यावसायिक 'हजारी' जातको केरा लगाएका थिए । यहाँका प्रति किसानले २ रोपनीदेखि २० रोपनी जग्गामा केराखेती विस्तार गरेका छन्, जसबाट उनीहरूले मासिक न्यूनतम १०-१२ हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका थिए ।
केराखेतीकै कमाइबाट घरव्यवहार चलाउन, छोराछोरी पढाउन र कच्ची घरलाई पक्की बनाउन सफल भएको स्थानीय किसान हिरा कुँवर बताउँछिन् । अनुकूल हावापानी र नजिकैको बजारका कारण फस्टाएको यो खेतीमा अचानक लागेको रोगले सिङ्गो गाउँकै आर्थिक मेरुदण्ड खलबलाइदिएको छ ।
खबरामा वि.सं. २०५८ सालमा स्थानीय मानबहादुर थापाले काठमाडौँबाट भित्र्याएको हजारी केराको व्यावसायिक खेती बिस्तारै म्याग्दी, पर्वत र बागलुङसम्म फैलिएको थियो । बेनी नगरपालिकाले समेत खबरालाई केराको 'पकेट क्षेत्र' बनाउने उद्देश्यसहित तीन वर्षअघि ठुलो संख्यामा बिरुवा वितरण गरेको थियो । तर, अहिले रोगको महामारीले गर्दा करोडौँको लगानी र किसानको भविष्य दुवै संकटमा परेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस