Techie IT
२०८३ असार २१, आइतबार

परम्परागत मिडियाको हिस्सा घट्यो, डिजिटल साक्षरता अझै चुनौती


नेपाल विज्ञापन संघ (आन) ले आफ्नो ३६औँ वार्षिकोत्सवका अवसरमा आयोजित 'मन्थ अफ क्रिएटिभिटी' (जेठ ३० देखि असार ३०, २०८३) अन्तर्गत एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौँको गौशालास्थित होटल बेस्ट वेस्टर्न प्लसमा आयोजित उक्त कार्यक्रम “Evolving Media Landscape and Ever–Transitioning Advertising Business” (परिवर्तनशील मिडिया परिदृश्य र निरन्तर रूपान्तरणकारी विज्ञापन व्यवसाय) विषयमा केन्द्रित थियो। अन्तरक्रियामा नेपाली मिडिया तथा विज्ञापन उद्योगमा भित्रिएका नयाँ प्रवृत्ति, अवसर र चुनौतीबारे विज्ञहरूबीच गहन छलफल भएको थियो।

विशेष गरी प्रविधिको तीव्र विकासले सिर्जना गरेका चुनौती र तिनलाई अवसरमा रूपान्तरण गर्न नेपाली विज्ञापन व्यवसायीहरूले अपनाउनु पर्ने सकारात्मक अभ्यासबारे कार्यक्रममा विचार आदानप्रदान गरियो।

छलफलका क्रममा उपभोक्ताको ध्यान फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता डिजिटल र सामाजिक सञ्जालतर्फ केन्द्रित हुँदै जाँदा टेलिभिजन, छापा (प्रिन्ट) र रेडियोजस्ता परम्परागत सञ्चारमाध्यममा विज्ञापनको हिस्सा घट्दै गएको औँल्याइयो। यसले समग्र विज्ञापन बजारमा नयाँ खालको असन्तुलन सिर्जना गरेको सहभागीहरूको निष्कर्ष थियो।

यस्तै, नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डेटा-आधारित मार्केटिङका लागि आवश्यक दक्ष जनशक्तिको अभाव रहेको तथा सहरी र ग्रामीण क्षेत्रबीचको डिजिटल साक्षरताको खाडल पनि विज्ञापन उद्योगको मुख्य चुनौतीका रूपमा प्रस्तुत गरिएको छ ।

चुनौतीका बाबजुद नेपाली विज्ञापन एजेन्सीहरूले परम्परागत शैलीलाई बदल्दै डिजिटल तथा 'इन्फ्लुएन्सर मार्केटिङ'लाई तीव्र रूपमा अपनाइरहेको भन्दै व्यवसायीहरूको सराहना गरिएको थियो। विशेष गरी नेपाली बजार, स्थानीय भाषा र संस्कृति अनुकूलका सिर्जनशील डिजिटल सामग्री निर्माणमा बढेको सक्रियतालाई सकारात्मक रूपमा लिइएको छ।

कार्यक्रममा एआई र 'डीपफेक' जस्ता अत्याधुनिक प्रविधिबाट उत्पन्न हुन सक्ने भ्रामक विज्ञापनको जोखिमबारे समेत सचेत गराइएको थियो। यस्ता जोखिम न्यूनीकरणका लागि विज्ञापन क्षेत्रमा कडा आचारसंहिता निर्माण, स्वनियमन र प्रविधिको जिम्मेवार प्रयोगमा जोड दिइयो।

अन्तरक्रियापछि आनको सदस्य संस्था 'एड्सारो नेपाल प्रालि'का अध्यक्ष सुजन अधिकारीले आधुनिक प्रविधिको प्रयोग तथा डिजिटल प्लेटफर्ममार्फत विज्ञापन वितरणका लागि आफ्नो कम्पनीले विकास गरेको नयाँ प्रविधिबारे प्रस्तुतीकरण दिएका थिए।

आनका उपाध्यक्ष पंकज प्रधानको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कार्यकारी सदस्य प्रभात रिमालले गरेका थिए।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको प्यानल छलफलको सहजीकरण टेक्नोलोजीखबर डटकमका प्रधान सम्पादक अनुजराज ढुङ्गेलले गरेका थिए। उक्त छलफलमा आनका कार्यकारी सदस्य दीपेन्द्र टण्डन, बाह्रखरीका प्रधान सम्पादक प्रतीकप्रधान, डिजिटल विज्ञापन विज्ञ कश्यप शाक्य र सारस बेभरेजेस (रेड बुल नेपाल)का सेल्स एन्ड मार्केटिङ प्रमुख निर्भीक प्रधानले प्यानलिस्टका रूपमा आफ्ना धारणा राखेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट