Techie IT
२०८३ असोज १८, आइतबार

अब क्रमभंग गर्ने पालो गगन र रविको हो: प्रचण्ड


नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राजनीतिमा 'क्रमभंगता' (आमूल परिवर्तन) को बाटो समात्न सुझाव दिएका छन्।

काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विगतमा आफूले शान्ति प्रक्रिया, संविधान निर्माण र गणतन्त्र स्थापनाका लागि पटकपटक क्रमभंगता गरेको स्मरण गराउँदै अब त्यो जिम्मेवारी युवा नेताहरूको काँधमा आएको बताए।

सम्बोधनका क्रममा प्रचण्डले भने, “गगनजीले जुन क्रमभंगता गर्नुभयो, पहिले पहिले मैले गर्ने गरेको थिएँ। अब मलाई सायद क्रमभंग गर्न अलि गाह्रो हुन थालेको छ, त्यसैले अब पालो गगनजीहरूको हो। तपाईंहरू क्रमभंग गर्दै जानुस्, अनि मात्र बन्छ नेपाल।”

उनले रास्वपा सभापति रवि लामिछानेलाई पनि अझै धेरै क्रमभंगता गर्न बाँकी रहेको उल्लेख गर्दै नयाँ ढङ्गले अघि बढ्न सुझाव दिएका छन् ।

गगन थापा र रवि लामिछाने दुवै जना आफ्नो नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री भइसकेको बताउँदै प्रचण्डले उनीहरूप्रतिको राजनीतिक आत्मीयता र विश्वास व्यक्त गरे। गगन थापा दोस्रो पटक आफू प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री र रवि लामिछाने गृहमन्त्री रहेको प्रसंग कोट्याउँदै उनले आफू प्रधानमन्त्री हुँदा मन्त्रीहरूलाई पूर्ण स्वतन्त्रता दिएको दाबी गरे।

मैले प्रधानमन्त्री हुँदा गरेका कामहरू गलत थिए भनेर मेरा क्याबिनेटका कुनै पनि मन्त्रीले भन्न सक्नुहुन्न । प्रचण्डले भने, “गगनजीको सक्रियता, गतिशीलता र कार्यक्षमता देखेर म सधैँ प्रभावित हुने गरेको थिएँ। त्यतिबेलै मैले उहाँलाई देशको नेतृत्व गर्ने दिन आउँछ भनेको थिएँ, जुन आज आएको छ।”

कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिँदै संयोजक प्रचण्डले पार्टीभित्र बाँकी रहेका सबै साथीहरूलाई समेटेर अघि बढ्न गगन थापालाई विशेष आग्रहसमेत गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट