Techie IT
२०८२ भाद्र १७, मंगलबार

चैतन्य एकेडेमीको १३औँ नीति सम्मेलन भदौ २७ र २८ गते


चैतन्य एकेडेमीले विगत १२ वर्षदेखि गर्दै आएको नीति सम्मेलनको १३औँ श्रृङ्खला आगामी भदौ २७ र २८ गते धुलिखेलमा आयोजना गर्ने भएको छ।

‘नीतिदेखि समृद्धिसम्म : राष्ट्र निर्माणको सार्थक यात्रा’ भन्ने शीर्षकमा हुने सम्मेलनको तयारी भइरहेको जानकारी चैतन्य ग्रुपका सिइओ गणेश जोशीले दिएका छन्। सोमबार शंखमुलस्थित कार्यालयमा पत्रकार सम्मेलन गरेर उनले कार्यक्रमबारे जानकारी दिएका हुन्।

जोशीले भने, “समृद्धि त्यतिबेलामात्र सम्भव हुन्छ, जब नीति सबल हुन्छ। सबल नीतिले मात्र समृद्ध देश निर्माण गर्न सकिन्छ, र समृद्ध देशबाटै बलियो राष्ट्रको परिकल्पना सम्भव हुन्छ।”

उनका अनुसार हिमालय दृश्य रिसोर्ट, धुलिखेलमा हुने यस सम्मेलनले संवादमार्फत देशका समसामयिक प्राथमिकता र दीर्घकालीन सम्भावनालाई उजागर गर्नेछ।

राजनीतिक स्थायित्व, आर्थिक पुनरुत्थान, सामाजिक समावेशिता, शिक्षामा रूपान्तरण, सुशासन, आधुनिक प्रविधिको प्रयोगलगायत विषयमा दिग्गज र प्रबुद्ध व्यक्तित्वबीच गहन छलफल हुने जानकारी जोशीले दिए।

राष्ट्र निर्माणका विविध आयाममा केन्द्रित यो सम्मेलनले नीति निर्माण, संवाद र सामूहिक समाधानतर्फ मार्ग प्रशस्त गर्ने अपेक्षा आयोजकले राखेको छ।

कार्यक्रममा राजनीति, अर्थनीति, शिक्षा, समाजशास्त्र, संस्कार, अध्यात्म, योग–ध्यान, कला, साहित्य, संस्कृति, शासन, सेवाप्रवाह, विकास, जलविद्युत् र परराष्ट्र नीतिसम्मका विषयमा समेत बहस हुनेछ।

नीति निर्माण, कार्यान्वयन र विश्लेषण क्षेत्रका वरिष्ठ विज्ञ, अनुसन्धानकर्ता, शिक्षक, प्रशासक, राजनीतिज्ञ, विचारक र समाजसेवीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

सम्मेलनमा वर्तमान चुनौती र समाधानमुखी विचारलाई प्राथमिकता दिइनेछ। साथै युवा, महिला, मधेस, जनजाति र सिमान्तकृत समुदायका आवाजलाई नीतिगत विमर्शमा समेटिने र सम्भावना, आशा तथा सकारात्मकताको सन्देशलाई मूल मर्म बनाइने आयोजकको भनाइ छ।

दुई दिनसम्म चल्ने कार्यक्रममा करिब एक दर्जन सेसन हुनेछन्। सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गर्नेछन् भने स्वस्तिवाचन आँचल बस्नेतले गर्नेछिन्। कार्यक्रमका प्रमुख वक्ता प्रा.डा. अच्युतप्रसाद वाग्ले रहने छन्।

विभिन्न सेसनमा अर्थशास्त्री, नीति निर्माता, राजनीतिज्ञ, समाजसेवी, शिक्षाविद्, अध्यात्म अध्येता, विचारक, पत्रकार र अन्य बौद्धिक व्यक्तित्वहरूको सहभागिता रहनेछ।

यसै अवसरमा वरिष्ठ पत्रकार टिकाराम यात्रीले “नीति बहस शब्द आफैंमा गम्भीरताको परिचायक हो” भन्दै सम्मेलनबारे धारणा व्यक्त गरे। उनका अनुसार, तेह्र वर्षअघि सुरु भएको अभियान सकसपूर्ण भए पनि आजसम्म आइपुग्दा यसले सफलता र परिपक्वता हासिल गरेको छ।

यात्रीले भने, “यो नीति बहस न त सरकारी मात्र हो, न त गैरसरकारी मात्र, न त बौद्धिक मात्र। यो सबैको मिश्रण हो। सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणालाई यसले निरन्तर टेवा पुर्‍याउँदै आएको छ।”

उनले उच्च सरकारी अधिकारी, राजनीतिक दल र तीनै तहका सरकारको सहयोगका कारण सम्मेलन आजको चरणसम्म आइपुगेको उल्लेख गर्दै आफू पनि आठ वर्षदेखि चैतन्यको यो अभियानमा संलग्न रहेको बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट