दूरदराजमा चम्किएको दार्चुलाको लटिनाथ विद्यालय
दार्चुलाको मार्मा गाउँपालिकास्थित लटिनाथ माध्यमिक विद्यालय हिमाली जिल्लामै सफल नमुना विद्यालयका रूपमा स्थापित हुँदै गएको छ। वि.सं. २००८ सालमा स्थापना भएको यस विद्यालयमा हाल करिब ५६० विद्यार्थी अध्ययनरत छन्। भौगोलिक रूपमा अपेक्षाकृत सहज स्थानमा अवस्थित विद्यालयले पछिल्लो समय भौतिक पूर्वाधारलाई समेत सुदृढ बनाउँदै लैजाँदा यसको स्वरूप आकर्षक र व्यवस्थित बनेको छ।
बालविकासदेखि कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा +२ तहमा मानविकी र व्यवस्थापन संकाय सञ्चालनमा छन्। शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यालय अग्रपंक्तिमा रहँदै आएको छ। विशेषगरी, मार्मा गाउँपालिका स्थापना भएदेखि नै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि यस विद्यालयले निरन्तर आफ्नो कब्जामा राख्दै आएको छ।
देशभर सामुदायिक विद्यालयहरूमा विद्यार्थी अभावको समस्या देखिएको सन्दर्भमा लटिनाथ विद्यालयले भने आफ्नो गरिमा र आकर्षण कायम राख्न सफल भएको छ। बजार क्षेत्रमा अवस्थित भएकाले विद्यालयले आफ्नै १० वटा सटरबाट भाडा संकलन गर्दै आर्थिक स्रोत पनि मजबुत बनाएको छ।
विद्यालयप्रति बढ्दो आकर्षणसँगै मार्मा गाउँपालिकाले पनि उल्लेखनीय लगानी गर्दै आएको छ। पालिकाबाट १२ जना शिक्षक र एक जना लेखापाल नियुक्त गरिएका छन् भने विद्यालय व्यवस्थापनका लागि वार्षिक पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराइन्छ। साथै, सुदूरपश्चिम प्रदेश सरकारले विद्यालयमा एक जना नर्सको व्यवस्था गरिदिएको छ । यसले विद्यार्थीहरूको सामान्य स्वास्थ्य समस्या समाधानमा सहयोग पुर्याउँदै आएकी छन्।
यस विद्यालयमा कक्षा ६ मा भर्ना हुन प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ। आधुनिक कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको प्रयोगमार्फत विद्यार्थीहरूले दैनिक रूपमा नयाँ–नयाँ सीप र ज्ञान हासिल गरिरहेका छन्।
समुदायको लगानी, स्थानीय तहको सक्रिय निगरानी र सरकारी सहयोगको समन्वय भएमा सामुदायिक विद्यालयहरू पनि उत्कृष्ट बन्न सक्छन् भन्ने उदाहरण लटिनाथ माध्यमिक विद्यालयले प्रस्तुत गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस