Techie IT
२०८२ भाद्र ५, बिहीबार

जलवायु परिवर्तनको असर: बागलुङमा स्याउ उत्पादन धरासायी


यस वर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित बनेका छन् । निसीखोला गाउँपालिका–५ निसेलढोरका कुँडे, गाभा, काङलगायतका क्षेत्रमा स्याउ उत्पादन नहुँदा किसान निराश बनेका हुन् । त्यस्तै, ढोरपाटन नगरपालिका–९ का नवी, भूजी, स्यालपाखेललगायत क्षेत्रमा पनि स्याउ उत्पादन घटेको छ ।

जिल्लाका प्रमुख स्याउ उत्पादन क्षेत्रमै उत्पादन कम हुँदा किसान थप समस्यामा परेका छन् । स्थानीय हेमराज सापकोटाले चार रोपनीमा लगाएको स्याउले यस वर्ष १० प्रतिशत पनि फल नदिएको बताए । करिब एक दशकदेखि स्याउखेती गर्दै आएका उनले पछिल्ला तीन वर्षदेखि उत्पादन निरन्तर घटिरहेको गुनासो गरे ।

‘अघिल्लो वर्ष थोरै भए पनि उत्पादन भएको थियो, तर यस वर्ष त अधिकांश बोट रित्तै छन् । जलवायु परिवर्तनकै कारण समस्या आएको हो । पहिले समयमा नै वर्षा हुने हुँदा राम्रो फल्थ्यो, तर पछिल्ला वर्ष यता समयमा पानी पर्न छाड्यो । लाखौँ लगानी गरेर खेती गर्दा पनि यसरी नफल्दा ठूलो नोक्सानी भयो,’ सापकोटाले भने, ‘यस वर्ष त अचम्मै भयो, रूखमा एउटा–दुई वटा दाना मात्र देखिन्छन्, बाँकी सबै खाली छन् । यही हालत रह्यो भने आगामी वर्ष त दाना नै फल्दैन कि भन्ने चिन्ता छ ।’

किसान मनबहादुर घर्तीका अनुसार गत हिउँदमा लामो खडेरी परेकै कारण स्याउ नफलेको हो । इटालियन फुजी जातबाहेक अन्य जातको स्याउ नउत्पन्न भएको उनले बताए । ‘पोहोर–परार सालमा एक–डेढ लाखको स्याउ बेचिन्थ्यो, यसपालि त दुई हजारको पनि फलेन,’ उनले भने, ‘हिउँदमा लामो समय खडेरी भयो, हिउँ पनि परेन । हिउँ परेको भए राम्रो फल्थ्यो, तर वर्षा नहुँदा यस्तो समस्या आयो ।’

जिल्लामा हाल ५६.९२ हेक्टर क्षेत्रमा स्याउखेती भइरहेको छ । गत वर्षसम्म बर्सेनि ३३१.२ मेट्रिक टन स्याउ उत्पादन हुँदै आएकोमा यस वर्ष भने उत्पादनमा ठूलो गिरावट आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट