पोखरामा सार्वजनिक ट्याक्सी सेवामा ‘मुभइन’ एप सुरु

पोखरामा सार्वजनिक यातायात सेवालाई प्रविधिमैत्री बनाउन नयाँ अनलाइन एप ‘मुभइन’ सार्वजनिक गरिएको छ। विशेषगरी ट्याक्सी सेवामा अनलाइन माध्यमबाट सेवा लिन सकिने व्यवस्था यस एपमार्फत उपलब्ध हुनेछ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलका अनुसार, ट्याक्सी चालकहरूले मनपरी भाडा लिने प्रचलनलाई रोक्न व्यवसायीहरूले मिलेर एप सुरु गरेका हुन् । उनले भने, “‘मुभइन’सँगको सहकार्यले पोखराको ट्याक्सी सेवामा ठुलो परिवर्तन ल्याउने विश्वास छ। यसले प्रविधिप्रति ट्याक्सी व्यवसायीहरूको विरोधको धारणा गलत साबित गर्छ।”
निवर्तमान अध्यक्ष प्रकाशमणि तिवारीले एप प्रयोग भएपछि चोकमा बसि ‘हाउ मच’ भन्दै भाडा बार्गेनिङ गर्ने प्रचलन समाप्त हुने बताए । “अब यात्रुले ट्याक्सीलाई कतिमा लैजान चाहन्छन् भनेर सोध्नुपर्ने छैन,” उनले भने।
हाल एपमा करिब १ हजारभन्दा बढी ट्याक्सी आबद्ध भइसकेका छन्। पोखरामा करिब २ हजार ट्याक्सी सञ्चालनमा रहेका कारण, एपले यात्रुहरूलाई आफ्नै घरको ढोकाबाट सजिलै सेवा लिन सक्ने सुविधा प्रदान गर्ने विश्वास लिइएको छ।
एपको विकासमा प्राविधिक र लगानीकर्ताहरूले झन्डै एक वर्ष मेहनत गरेका थिए। तिवारीले भने, “यो बच्चा जन्मिसकेको छ। अब यसलाई हुर्काउने र सेवा विस्तार गर्ने जिम्मेवारी हाम्रो काँधमा छ। यसले हाम्रो पेशालाई सम्मानजनक रूपमा स्थापित गर्न सहयोग गर्नेछ।”
‘मुभइन नेपाल’का प्रमुख कार्यकारी अधिकृत प्रमेश पराजुलीले एप सार्वजनिक गर्दै भने, “सार्वजनिक यातायातलाई प्रविधिमैत्री र सहज बनाउन एप सञ्चालन गरिएको हो। यसले बार्गेनिङको समस्या हटाएर ग्राहक र चालकलाई प्रत्यक्ष जोड्नेछ। हामीले यसलाई व्यवसाय मात्र नभई सामाजिक उत्तरदायित्वको दृष्टिले अगाडि बढाएका छौं। भविष्यमा नाफाको ठुलो हिस्सा व्यवसायीहरूको हितमा खर्च गरिनेछ।”
कम्पनीले एप सञ्चालनका लागि तत्काल कुनै शुल्क नलिने पनि घोषणा गरेको छ। एपले पोखरा र आसपासका क्षेत्रहरूलाई समेटेको छ र बिस्तारै देशभर विस्तार हुने योजना रहेको छ। कम्पनी विभिन्न व्यवसायी र संस्थाहरूको लगानीमा सञ्चालनमा आएको हो। पराजुलीले पोखराका अन्य ट्याक्सी कम्पनीहरूलाई पनि एपमा सहभागी हुन आग्रह गरेका छन् ।
एप पोखराकै आईटी इन्जिनियर रविन तिवारी र उनको ४५ सदस्यीय प्राविधिक टोलीले तयार गरेको हो। प्रारम्भिक चरणमा चालकहरूबाट कुनै कमिसन नलिने निर्णय गरिएको छ। एपमा ‘लाइभ’ देखिनका लागि न्यूनतम ५०० रुपैयाँको ब्यालेन्स राख्नुपर्ने भए पनि यो रकम काटिने छैन । एपको प्रयोगबारे जनचेतना बढाउने योजना पनि रहेको पराजुलीले बताए।
सोमबार एप सार्वजनिक भएपछि यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले प्रदेश सरकारलाई धन्यवाद दिँदै निजी सवारी हटाएर राइड सेयरिङ नियम लागू गर्नुपर्ने माग गरे। उनले चार पाङ्ग्रेलाई मात्रै यसमा समेट्नुपर्ने पनि सुझाए। उनले राइड सेयरिङ सम्बन्धी नियमावली मन्त्रिपरिषदबाट पारित भएपछि व्यवसायीहरूले विरोध जनाएको भए पनि प्रविधिमैत्री बन्न तयार रहेको सन्देश एपमार्फत प्रवाहित भएको बताए।
तपाईको प्रतिक्रिया दिनुहोस