मुस्ताङको साङ्ता मतदान केन्द्र पुग्न हिउँ पन्छ्याइँदै
यहाँ ३९ जना मतदाता रहेका छन्
मुस्ताङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ स्थित साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकमा मंगलबारदेखि हिउँ पन्छ्याउने काम सुरु गरिएको छ।
हिमपातका कारण कात्तिक १० गतेदेखि पूर्णरूपमा अवरुद्ध सडकमा सवारी सञ्चालन सहज बनाउन हिउँ पन्छ्याउन थालिएको वडा नं. ५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए।
मुस्ताङको सदरमुकाम जोमसोमदेखि उत्तर–पश्चिमतर्फ समुद्री सतहबाट करिब ४ हजार ५ सय मिटर उचाइमा रहेको साङ्ता गाउँ मुस्ताङको सबैभन्दा पछि पत्ता लागेको बस्ती मानिन्छ। यहाँ ३९ जना मतदाता रहेका छन्। साङ्ता गाउँस्थित हिमाली आधारभूत विद्यालयमा मतदान केन्द्र तोकिएको छ, जुन जोमसोमबाट करिब ४० किलोमिटर टाढा पर्छ।
भौगोलिक रूपमा विकट यस गाउँका अधिकांश नागरिक जाडो छल्न गाउँबाहिर रहेका छन्। साङ्ता गाउँ मुस्ताङ र डोल्पाको सीमाक्षेत्र नजिक पर्दछ। यहाँका बासिन्दा मंसिरअघि नै जाडो छल्न जोमसोम आसपासका गाउँमा आफन्तकहाँ बस्न गएका छन् भने केही पोखरा र काठमाडौं झरेका छन्। हाल गाउँमा पशुचौपाया हेर्ने केही गोठालाबाहेक अधिकांश घरमा ताल्चा लागेको अवस्था छ।
साङ्ता गाउँमा १३ घरधुरी रहेका छन्। यहाँका स्थानीय प्रायः चैत–वैशाख महिनामा मात्र गाउँ फर्कने गरे पनि यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न फागुन २१ गतेअघि नै गाउँ पुग्नुपर्ने अवस्था रहेको छ।
केही दिनअघि मतदान केन्द्रको अनुगमन गर्न पुगेको जिल्ला सुरक्षा समितिको टोली हिमपातका कारण अवरुद्ध सडकका कारण आधा बाटोबाटै फर्किएको थियो। जिल्लाका अधिकांश मतदान केन्द्रको स्थलगत अनुगमन सम्पन्न भए पनि साङ्ता गाउँस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्र भने सडक अवरुद्ध हुँदा अनुगमन हुन सकेको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस