चिकित्सक संघको आन्दोलन चेतावनी

नेपाल चिकित्सक संघले सरकारसँग भएको सहमति कार्यान्वयनमा देखिएको ढिलाइप्रति गम्भीर असन्तोष जनाउँदै पुनः आन्दोलनमा जाने चेतावनी दिएको छ।
संघका महासचिव डा. सञ्जीव तिवारीले बुधबार जारी गरेको विज्ञप्तिमार्फत सरकारको विश्वसनीयता माथि प्रश्न उठाउँदै तत्काल सहमति कार्यान्वयन गर्न आग्रह गरेका छन्।
गत असार २४ गते प्रधानमन्त्रीको निर्देशनमा नेपाल चिकित्सक संघ र सरकारका तर्फबाट तीन मन्त्रीबीच उपभोक्ता संरक्षण ऐनलगायत विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको संशोधनका लागि तीन बुँदे सहमति भएको थियो।
उक्त सहमतिअनुसार, विभिन्न सरोकारवाला मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदलले सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने व्यवस्था मिलाइएको थियो। तर निर्धारित समयसीमा सकिएपछि पनि कुनै ठोस प्रगति नदेखिएपछि संघले कार्यदल पूर्णरूपमा निष्क्रिय रहेको आरोप लगाएको छ।
महासचिव तिवारीले सरकारका उच्च पदस्थ अधिकारीहरूसँग भएको सहमति समयमै कार्यान्वयन नभए भविष्यमा उनीहरूको मौखिक वा लिखित प्रतिबद्धतामाथि विश्वास गर्ने आधार नरहने चेतावनी दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस